मास्टरकार्डले दियो कर्मचारीलाई घरबाटै काम गर्ने अनुमती

मास्टरकार्डले आफ्ना विश्वभरका कर्पोरेट कार्यालयमा रहेका कर्मचारीहरुलाई कोरोनाको प्रकोप साम्य नभएसम्म वा सोको खोप नभएसम्म काम फर्कन नभन्ने जनाएको छ।

संस्थाका एक विशिष्ठ कार्यकारीले बुधबार रोयटर्ससँग यस्तो बताएका हुन्।

मास्टरकार्डका मुख्य अधिकारी माइकल फ्र्याकारो आफ्ना कार्यालयहरूलाई थप मजबुत पार्ने बताएका छन्।

‘हामी आउँदा हप्ता र महिनाहरूमा अझ धेरै कर्मचारीले कार्यालय आएर भन्दा पनि घरै बसेर कामलाई निरन्तरता दिने आशा गरेका छौं’, उनले भने, ‘र हामी त्योसँग सहज छौं। हामी त्यो रोजाइलाई साथ दिन्छौं।’

फ्र्याकारोका अनुसार कार्यालय आउने कर्मचारीहरूले भने सामाजिक दुरीका नियमहरु कडाइका साथ पालना गर्नुपर्ने, मास्क लगाउनु पर्ने र तापक्रम जाँच्नुपर्नेछ।

कम्पनीका विश्वभरका कार्यालयमा उसका २० हजार कर्मचारी रहेका छन्।

अवस्था सामान्य भएपछि पनि विश्वभरका कार्यालयमा जम्मा ३० प्रतिशत कर्मचारी उपस्थिति हुने फ्र्राकारोले बताएका छन्।

मास्टरकार्डका प्रतिष्पर्धी कम्पनीहरू अमेरिकन एक्सप्रेस र भिषा लगायतले पनि तत्कालै आफ्ना कार्यालयहरूमा कर्मचारी बोलाउने योजना नभएको बताइसकेका छन्।

फ्र्राकारोले मास्टरकार्डले एक टास्क फोर्स बनाएको र त्यसले भविष्यमा आफ्ना कार्यालय र कर्मचारीको आवश्यकतालाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने बुझिरहेको बताएका छन्।

Top