
काठमाडौं । कतारमा रहेका एक नेपालीलाई त्यहाँको सरकारले मृत्युदण्ड दिएको छ ।
गोली हानी महोत्तरी औराही–१,का अनिल चौधरीलाई मृत्युदण्ड दिएको हो ।
चौधरीमाथि कतारका नागरिक उमैर मोहम्मद उमैर अल रमाजानी अल–नुयमीको हत्याको अभियोगमा दोषी ठहर गर्दै अदालतले मृत्युदण्डको फैसला सुनाइएको थियो।
उनी हत्या गरेको अभियोगमा सन् २०१७ अप्रिलको पहिलो हप्ता पक्राउ परेका थिए । उनले नुयमीमाथि दर्जनौं पटक खुकुरी प्रहार गरेको आरोप ठहर गरिएको थियो ।
उनले हत्या गरेको अभियोगमा त्यहाँको तल्लो अदालतले मृत्युदण्डको फैसला गरेको थियो । भने सर्वोच्च अदालतले पनि अनुमोदन गरेपछि जेल प्रशासनले मृत्युदण्डलाई कार्यान्वयन गरेको हो।
कतारमा नेपालीलाई मृत्युदण्ड दिइएको यो पहिलो हो । त्यस्तै नेपालीद्वारा कतारी नागरिकको हत्या गरिएको यो नै पहिलो घटना हो । तर कतारमा नेपालीद्वारा नेपालीकै हत्या अभियोगमा १० जना जेलमा छन् । कतारमा मृत्युदण्ड पाएका नेपालीहरु अरु पनि भए पनि उनिहरुको मृत्युदण्डको सजाय कार्यान्वयन भएनसकेको जनाएको छ ।
उनी २०१५ अगष्ट २७ गते कतार गएका थिए । क्लिनिङ कम्पनीमा सामान्य मजदुरको काम गर्थे । हत्या आरोप प्रमाणित भएसँगै उनलाई केन्द्रीय कारगारमा राखिएको थियो ।
स्रोतका अनुसार चौधरीलाई मृत्युदण्ड दिइएकोबारे कतारस्थित नेपाली दूतावासलाई जानकारी गराइएको छ। नेपाली दूतावास दोहाले काठमाडौंस्थित कन्सुलर विभागमा यसबारे जानकारी गराइसकेको जनाएको छ ।
साथै कतार सरकारले उनको शव नेपाल ल्याउन अनुमति दिएको बताइएको छ ।