‘उद्योग व्यवसाय, रोजगारीमा असर बढ्यो, लकडाउनलाई खुकुलो बनाऔं’

काठमाडौं । कोरोना संक्रमणपछि मुलुक लामो समयदेखि लकडाउनमा हुँदा अर्थतन्त्र थप संकुचित हुने भन्दै चिन्ता व्यक्त गरिएको छ । नेपाल उद्योग परिसंघले आयोजना गरेको सेमिनारमा सरोकारवालाहरूले यस्तो चिन्ता व्यक्त गरेका हुन् । त्यसैले लकडाउनलाई खुकुलो बनाउँदै लैजानु पर्नेमा जोड दिए ।

उद्योगपति एवं कांग्रेस सांसद विनोद चौधरीले अहिलेको चुनौती अर्थतन्त्रलाई बचाउनु रहेको बताए । ९५ प्रतिशत व्यापार, व्यवसाय, उद्योग प्रतिष्ठान, निर्माण, उत्पादक एवं सेवा मुलक उद्योग कोभिड १९ र लकडाउनले प्रभावित भएको भन्दै उनले लामो समयदेखिको लकडाउनले जनजीवन, अर्थतन्त्र नराम्ररी प्रभावित भएको बताए । लकडाउनलाई खुकुलो बनाउँदै लैजानु पर्ने उनको धारणा थियो ।

‘‘सुरक्षाको मापदण्ड अपनाएर लकडाउनलाई खुकुलो बनाउनु पर्छ,’’ उनले भने, ‘‘नभए भोकमरीलगायतका जटिलता आउन सक्छन् ।’’ जलविद्युत, निर्माणलगायतका क्षेत्रमा हजारौं रोजगारीमा रहेका प्रभावित रहेको भन्दै उनले यस्ता परियोजना निर्माण खोल्दै जानुपर्ने बताए ।

अर्थविद् डा शंकर शर्माले अहिलेको परिस्थितिले ठूलो जनसंख्या गरिबीको रेखामुनि जान सक्ने देखिएको बताए । उनले स्वास्थ्य क्षेत्रबाहेक राहत र रोजगारी निकै महत्त्वपूर्ण रहेको बताए ।

अनौपचारिक क्षेत्रका करिब २० लाख जनालाई राहत आवश्यक पर्ने र त्यसका लागि मासिक ६ देखि साढे ६ अर्ब रूपैयाँ आवश्यक पर्ने र त्यसका लागि सरकार तयार हुनुपर्ने बताए । त्यस्तै औपचारिक क्षेत्रमा पनि रोजगारीको समस्या बढ्दै गएको उनले बताए ।

नेपालका लागि विश्व बैंकका निर्देशक फारिस हजाड जेरभोसले चुनौती थपिँदै जाँदा नेपालको आर्थिक वृद्धि अनुमान गरिएबाट पनि झर्न सक्ने संकेत गरे । नेपालमा पछिल्ला दिनमा कोरोनाको संक्रमण बढ्दै जानु चुनौती बढ्दै गएको उनले बताए ।

पर्यटन, उड्डयन, निर्माण, माग र आपूर्ति निकै प्रभावित बनेको उनले बताए । नेपाल सरकारसँग नजिक रहेर विश्व बैंकले काम र सहयोग गरिरहेको बताए । अहिलेको अवस्थामा ढुवानी निकै समस्या बन्दै गएको बताइएको छ ।

नेपाल उद्योग परिसंघका अध्यक्ष शतिशकुमार मोरले सरकारले जीडीपीको ५ प्रतिशत स्टिमुलस प्याकेज ल्याउनु पर्ने बताए । कोभिड १९ विरुद्ध नेपाललाई अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको उनले बताए ।

Top