बेलायत प्रवेशमा कडाइ, १ हजार पाउण्डसम्म जरिवाना

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणलाई नियन्त्रण गर्न बाहिरबाट बेलायत प्रवेश गर्नेहरुले अनिवार्य रुपमा १४ दिनसम्म सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने नियम बेलायत सरकारले लागू गरेको छ ।

आगामी जुन ८ तारिखबाट उक्त नयाँ नियम लागू गरिनेछ । बेलायत सरकारकी गृहमन्त्री प्रिती पटेलले शुक्रबारको दैनिक कोरोना ब्रिफिङमा सो कुराको जानकारी गराएकी हुन् ।

सरकारको नयाँ नीतिको उलंघन गर्नेलाई १ हजार पाउण्डसम्म जरिवाना गर्नुका साथै अन्य देशका नागरिकलाई प्रवेशमा समेत रोक लगाउन सकिनेछ ।

बेलायतभित्र प्रवेश गर्ने क्रममा यात्रुहरुले ‘बोर्डर फोर्स’ लाई आफू क्वारेन्टाइनमा बस्ने घर, होटल अन्य जुनसुकै ठाउँको भएपनि पूरा ठेगाना उपलब्ध गराउनुपर्नेछ ।

१४ दिनभित्रको अवधिभित्र कुनै पनि समयमा उनीहरु बसेको ठाउँमा निरीक्षणको गरिने र नियमको पालना नगरिएको पाइएमा कारबाहीको भागिदार हुनुपर्नेछ । यसरी क्वारेन्टाइमा बसेको व्यक्तिले कुनै पनि सार्वजनिक यातायातको प्रयोग गर्न पाउने छैनन् ।

साथै, उनीहरु किनमेलको लागि पनि बाहिर निस्कन पाउने छैनन् । यदि कसैको बस्ने स्थानको ठेगान नभएमा सरकारद्वारा तोकिएको स्थानमा बस्नुपर्नेछ तर त्यसको खर्च स्वयंले व्यहोर्नुपर्ने बोर्डर फोर्स प्रमुख पौल लिंकोल्नले बताएका छन् ।

तर, स्कटल्याण्ड, नर्दन आयरल्याण्ड र वेल्सले आफ्नो छुट्टै व्यवस्था लागू गर्न सक्नेछन् ।

तर, बेलायतको आयरल्याण्ड, द च्यानल आएरल्याण्ड, र द आयल्स अफ म्यान बाट बेलायत भित्रनेका लागि भने १४ दिनको क्वारेन्टाइनको नियम लागू हुनेछैन । यसैगरी, लरी ड्राइभर, सिजनल फार्मका कामदार तथा कोरोना भाइरससम्बन्धी स्वास्थ्यकर्मीका हकमा पनि सो नियम नलाग्ने गृहमन्त्री पटेलले बताएकी छिन् ।

प्रत्येक तीन हप्तामा नयाँ नियमको समिक्षा गरेर अगाडी बढ्ने यसअघि नै बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बताएका थिए ।

Top