कोरियन भाषा परीक्षा अनिश्चित, यो वर्ष पास हुनेको सङ्ख्या पनि घट्ने

काठमाण्डौ – कोरियन भाषा परीक्षा अनिश्चित भएको छ । एचआरडी कोरियाले २०२० जुनमा लिने भनिएको परीक्षा कोरोनाको कारण रद्द भएको र अब भाषा परीक्षा तथा सीप परीक्षण कहिले हुन्छ भन्ने यकिन नभएको जनाएको छ ।

यस्तै अब हुने परीक्षामा उत्पादनमुलक क्षेत्रमा मात्र परीक्षा लिएर कामदार छानोट गर्ने योजना भएकाले अघिल्लो वर्षको तुलनामा भाषा परीक्षामा पास हुनेको सङ्ख्या घट्ने एचआरडी कोरियाले जनाएको छ । २०१९ को भाषा परीक्षामा कृषि तथा पशुपालन क्षेत्र र उत्पादनमुलक क्षेत्रमा गरी दुई विधामा परीक्षा भएकाले धेरै पास भएका थिए ।

यो वर्ष विशेष कोरियन भाषा परीक्षा (सीबीटी) पनि नहुने भएको छ । रोष्टरमा भएका व्यक्तिहरु धेरै भएकाले यो वर्ष सीबीटी परीक्षा नहुने एचआरडी कोरियाले उल्लेख गरेको छ । भाषा परीक्षामा हुने अमर्यादित गतिविधि रोक्न कम्युटर लगायतका तरिकाबाट परीक्षा लिने माध्यमबारे अध्ययन भइरहेको भए पनि अझै कुन माध्यमबाट परीक्षा हुन्छ भनेर निष्कर्षमा नपुगेको कोरियाले जनाएको छ ।

भाषा परीक्षामा हुने अमर्यादित क्रियाकलापलाई रोक्न औंठा छाप लिने व्यवस्थाको सुरुवात र कम्पुटरबाट परीक्षा लिने ठाउँको निर्माण सकिएपछि मात्रै परीक्षाको मिति तोक्नेबारे नेपाल सरकारसँग सल्लाह भइसकेको छ ।

Top