नोटलाई ३ वर्गमा वर्गीकरण, अब कस्तो नोट कुन वर्गमा ?

काठमाडौं : नेपाल राष्ट्र बैंकले सफा नोट नीतिलाई थप व्यवस्थित गरेको छ । आइतबार निर्देशन जारी गर्दै केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाले नोटलाई ३ वर्गमा वर्गीकरण गर्नुपर्ने जनाएको छ । वित्तीय संस्थाहरुले आफूले पाएको नोटलाई एटीएम लगायतमा मेसिनका माध्यमबाट चलनचल्तीमा पठाउन योग्य, काउन्टरबाट भुक्तानी गर्न योग्य वा चलनचल्तीमा पठाउन अयोग्य भनेर वर्गीकरण गर्नुपर्नेछ ।

बैंक तथा वित्तीय संस्थाले एटीएम लगायतका मेशिनहरुको माध्यमबाट चलनचल्तीमा पठाउन योग्य नोटको प्याकेटमा हरियो रङको स्लिप प्रयोग गर्नुपर्ने केन्द्रीय बैंकले जनाएको छ । साथै, काउन्टरबाट भुक्तानी गरी चलनचल्तीमा पठाउन योग्य नोटको प्याकेटलाई सेतो रङको स्लिप र चलनचल्तीमा पठाउन अयोग्यलाई रातो रङको स्लिप प्रयोग गर्नुपर्ने निर्देशनमा उल्लेख छ ।

विभिन्न रङ प्रयोग गरिएका नोटको स्लिपमा सम्बन्धित बैंक वित्तीय संस्थाको नाम, कार्यालय वा शाखाको नाम, छाप, नोट गन्ती गर्ने कर्मचारीको नाम लगायतका विवरण खुलाउन पनि निर्देशन दिइएको छ ।

Top