‘विदेशमा अलपत्र परेका नेपाली ल्याइए होटललाई क्‍वारेन्टाइन बनाउन दिइने’

काठमाडौं । होटल संघ नेपालले विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश ल्याइए होटललाई क्‍वारेन्टाइन बनाउन सकिने जनाएको छ ।

होटलहरुलाई आवश्यताअनुसार क्‍वारेन्टाइनको रुपमा प्रयोग गर्ने बारे संघले पर्यटन विभागका महानिर्देशकसँग विस्तृत छलफल गरी यस सम्बन्धमा संघले तयार पारेको विस्तृत विवरण बुझाएको छ । संघले कोभिड-१९ बाट सिर्जित राष्ट्रिय संकटलाई प्रत्यक्ष रुपमा न्यूनीकरण गर्न गराउन सघाउ पुर्‍याउन स्वाथ्यकर्मी तथा अग्रपंक्तिमा रहेका कोरोना संक्रमणविरुद्ध खटिएका व्यक्तिहरुलाई समेत आवश्यकताअनुसार क्‍वारेन्टाइनको व्यवस्था गराउन सकिने विषयमा विभागलाई जनाकारी गराएको छ ।

त्यसरी होटललाई क्‍वारेन्टाइनका रुपमा होटलहरु उपयोग गरिँदा बस्‍ने पाहुनाहरुको चेकइनपूर्व नै निर्धारित उपयुक्त स्वास्थ्य जाँच गरी संक्रमण नभएको एकिन हुने प्रमाण हुनुपर्ने र प्रत्येक दिन पटक-पटक स्वास्थ्य जाँच हुनुका अतिरिक्त नेपाल सरकारले होटल सञ्‍चालनका लागि कानुनी अनिवार्य सर्तका रुपमा तोकिएको अन्तर्राष्ट्रिय स्तरका मापदण्डहरुको कुनै क्षति नहुने, कामदार कर्मचारी तथा छिमेकका स्थानीय समुदायसमेत कोरोना संक्रमणबाट पूर्ण रुपमा बचाउन सरकारबाट खटाइने स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको रोहबरमा होटल सञ्‍चालन हुनुपर्ने जनाएको छ ।

क्‍वारेन्टाइन अवधिभरि उपलब्ध गराइने तोकिएको चारछाक पौष्टिक स्वास्थवर्द्धक आहार, आवश्यक पर्ने सबैखाले आधारभूत सेवा-सुविधा, सञ्‍चार, पानी, बिजुलीलगायत कामदार कर्मचारीको पारिश्रमिक, सेवा शुल्क, कर दस्तुर सबै खर्च सरकारको वर्गीकरण अनुसार लाग्‍ने अनुमानित खर्चहरुको शीर्षकअनुसार न्यूनतम आधारका रुपमा सबै सदस्य होटलहरुको जानकारी तथा प्रत्येक प्रतिष्ठानस्तरको सञ्‍चालन निर्णयका लागि सिफारिस गरिएको संघले जनाएको छ।

पछिल्लो २ महिनाभन्दा बढी अवधिदेखि बन्द होटल प्रतिष्ठानमा कर्मचारीको उपलब्धता र भौतिक संरचना-उपकरणहरुको सञ्‍चालनलाई ध्यानमा राखेर क्‍वारेन्टाइनका रुपमा होटल सञ्‍चालन गर्ने नगर्ने निर्णय प्रत्येक सदस्य प्रतिष्ठानहरुले लिन सक्ने पनि जनाइएको छ ।

साथै क्‍वारेन्टाइनका रुपमा सञ्‍चालन गर्न सकिने होटल प्रतिष्ठानहरुमा उपयुक्त स्वास्थ्य संरक्षण गर्ने विधि तथा व्यवस्था लगायत उपलब्ध पूर्वाधार, सेवा, सुविधा सरकारले तोकेको मापदण्ड पूरा गरी सरकारी नियमनकारी आधिकारिक निकायमा दर्ता भए नभएको पनि अद्यावधिक हुनुपर्ने पनि होटल संघ नेपालले जनाएको छ । होटल संघ नेपालको देशैभरि छरिएका रहेका साथै सातै प्रदेशमा रहेका १५ क्षेत्रीय संघअन्तर्गत ३५ सय होटल सदस्य छन् ।

Top