नेपालमा अनौठो परम्परा, मृत्यु भइसकेपछि कोरोना पुष्टि

काठमाडौं । नेपालमा मृत्यु भइसकेका व्यक्तिलाई कोरोनाभाइरस संक्रमण भएको पुष्टि गर्ने क्रम रोकिएको छैन । मृत्यु भएको एक सातापछि सोमबार बाराको कलैयाका एक ७० वर्षीय वृद्ध कोरोनाभाइरस संक्रमण भएको खुलेको छ ।

मिर्गाैलामा समस्या देखिएपछि अस्पताल भर्ना भएका उनको जेठ ४ गते वीरगञ्जको नेशनल मेडिकल कलेजमा मृत्यु भएको थियो । तर, उनको मृत्यु भएको नौ दिनपछि सोमबार कोरोना संक्रमण भएको पुष्टि गरिएको छ ।

यो पहिलोपटक भने होइन । हालसम्म नेपालमा कोरोनाभाइरस संक्रमणबाट चार जनाको मृत्यु भएको छ । जसमध्ये गुल्मीका एक पुरुषको निधन अघि कोरोना संक्रमण भएको पुष्टि भएको थियो । तर, बाँकी तीन जनाको भने मृत्यु भइसकेपछि कोरोना संक्रमण भएको पुष्टि गरिएको हो ।

सोमबार कोरोना पुष्टि भएका मृतक बाराका ति पुरुषको अन्तिम दाहसंस्कार पनि भइसकेको छ । जसले थप व्यक्तिमा कोरोना संक्रमणको जोखिम बढाएको छ । छिटो छरितो रुपमा परीक्षण तथा यसको रिपोर्ट नआउँदा झन कोरोना संक्रमणको जोखिम बढाएको छ ।

Top