विदेशमा अलपत्र नेपाली कहिले फर्कन पाउलान् ?

काठमाडौं, १४ जेठ । यतिबेला लाखौं नेपाली विदेशमा अलपत्र छन् । उनीहरु स्वदेश फर्कन आतुर छन् तर लकडाउन र हवाई उडानमा निषेधका कारण फर्कन पाएका छैनन् ।
कुवेतमा मात्र ३ हजार नेपाली स्वदेश फर्कन आतुर छन् । ओभरस्टे, विभिन्न आपराधिक कार्य, गैरकानुनी बसोबासका कारण अलग्गै राखिएका ती नेपाली नागरिकलाई कुवेत सरकारले आफ्नै खर्चमा विमानबाट ल्याउने प्रस्ताव गरिसकेको छ । तर, देशभित्र प्रक्रिया मिलाउन ढिलाई भएकाले आउन पाएका छैनन् ।
खाडीका अन्य मुलुकमा पनि नेपाली अलपत्र छन् । उनीहरु बेरोजगार भइसकेका छन् । घर फर्कन आतुर छन् ।
अमेरिका, बेलायतका अलावा युरोपेली युनीयनका देश, जापान, अष्ट्रेलियामा पनि नेपाली अलपत्र छन् । उनीहरुको स्वदेश आगमन तत्काललाई अनिश्चित जस्तै छ । भारतमा रहेका केही लाख नेपाली फर्किएपछि त्यो पनि ठुलो संख्यामा अलपत्र छन् । उनीहरु लकडाउन खुलेपछि सहज आवागमन भई फर्कने आशामा छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्दा विदेशमा अलपत्र परेका नेपालीको उद्धार गरिने बताए । उनको यो भनाईले अलपत्र नेपाली उत्साही भए । तैपनि, प्रक्रिया मिलाउन ढिलाई भइरहेको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली पनि नेपाली नागरिकलाई फर्काउने गरी प्रक्रिया मिलाइरहेका छन् । तर, तत्काल कदम चाल्नेतर्फ सरकार बढेको छैन ।

विदेशबाट नेपाली फर्काएपछि क्वारेन्टाइनमा कम्तिमा १४ दिन राख्नुपर्ने हुन्छ । यसको व्यवस्थापन गर्न सरकारले सकिरहेको छैन । भारतबाट स्वदेश फर्कनेका लागि बनाइएका क्वारेन्टाइन नै कोरोना संक्रमण फैलनुको कारण बन्यो । यसले पनि सरकार शतर्क र सजग भएको छ । तर, नागरिकको उद्धार गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना भइरहेकाले सरकार दबाबमा परेको छ ।

Top