कोरियामा मास्क अनिवार्य, नलगाई घर बाहिर निष्किएमा कडा कारवाही

काठमाडौं : दक्षिण कोरियामा मंगलबारदेखि मास्क अनिवार्य गरिएको छ । ‘नो मास्क, नो राइड’ भन्ने नयाँ नियम अनुसार ट्रेन, बस र ट्याक्सीमा यात्रा गर्ने यात्रु तथा चालकले समेत अनिवार्यरूपमा मास्क प्रयोग गर्नुपर्नेछ । मास्क प्रयोग नगरी यात्रा गरे वा गराएमा कारवाही हुने रोग नियन्त्रण महाशाखा केसीडीसीले बताएको छ । नियम उल्लंघन गर्ने यात्रुलाई यात्रामा प्रतिबन्ध लगाइ कानुन अनुसार कारवाहीसमेत गरिने भएको छ । एक हिसाबले घर बाहिर निष्किन नै मास्क अनिवार्य गरिएको हो ।

अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई उडानमा यात्रा गर्ने यात्रुलाई पनि यो नियम लागू हुनेछ । सार्वजनिक यातायातबाट कोरोना संक्रमण फैलिने जोखिम उच्च हुने भएकाले संक्रमण नफैलियोस् भनेर यो नियम जारी गरिएको सम्बद्ध अधिकारीले बताएका छन् । नियम अनुसार मास्क नलगाइ यात्रा गर्न चाहने यात्रुलाई बस वा ट्याक्सी चालकले यात्रामा रोक लगाउनसमेत सक्नेछ ।

यससँगै केही अघि मात्र इथेवन सहरको एक रात्रि क्लबबाट संक्रमण फैलिएपछि त्यहाँका क्लब तथा बारहरु पनि बन्द गरिएका छन् । कोरियामा ११ हजार २२५ कोरोना संक्रमित छन् भने १० हजार २७५ बढी निको भएर घर फर्किसकेका छन् । हालसम्म कोरियामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २६९ रहेको छ । तुलनात्मक रुपमा कोरियामा कोरोना जोखिम कम रहेको देखिन्छ ।

Top