खाडी र मलेसियामा ९ हजारभन्दा धेरै नेपाली काेरोना सङ्क्रमित

काठमाण्डाै – खाडीका देश र मलेसिया कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख नाघेको छ । यी देशमा रहेका नेपाली दूतावास र गैरआवसीय नेपाली संघ (एनआरएनए) का अनुसार यी देशमा ९ हजार २ सय ४५ जना नेपाली नागरिकमा काेराेना सङ्क्रमणकाे पुष्टि भएकाे छ । जसमध्ये ५३ जना निकाे भएर काममा फिरेका छन् भने यूएईमा काेराेनाका कारण १८, साउदीमा ७ जना र कतारमा १ गरी २६ जनाकाे ज्यान गएकाे छ ।

नेपाली दूतावास र गैरआवसीय नेपाली संघ एनआरएनएका अनुसार अहिलेसम्म साउदीमा १३ सय ६४, बहराइनमा ३३१, यूएईमा ५ सय , कुवेतमा ८४, कतारमा ६ हजार ९ सय ११ जना , मलेसियामा ५५ जना गरी जम्मा ९ हजार २ सय ४५ जना नेपाली श्रमिकलाई कोरोना सङ्क्रमण भएकाे हाे । जसमध्ये साउदीमा ३८, यूएईमा दुई र मलेसियामा १३ गरी ५३ जना निको भएर काममा फर्किएका छन् । तर साउदी, यूएई र कतारमा उल्लेख्य कोरोना सङ्क्रमित निको भएको त्यहाँको सरकारको भनाइ छ । यकिन तथ्याँक भने खुलाइएको छैन । माथि उल्लेखित तथ्याँक निको भएर दूतावासको जानकारीमा आएका नेपालीको हो ।

यस्तै यी देशमा अहिलेसम्म काेराेना सङ्क्रमितकाे सङ्ख्या २ लाख ७ हजार ४६६ पुगेकाे छ । जसमध्ये एक लाख १ हजार ५९० जना उपचारपछि निकाे भइसकेका छन् भने १ लाख ४ हजार २७३५ जनाकाे अस्पतालमा उपचार भइरहेकाे छ । यी देशमा काेरेानाका कारण १ हजार ५१ जनाले ज्यान गुमाएका छन् ।

खाडीका देशमा सङ्क्रमण बढ्न थालेपछि अहिले त्यहाँकाे सरकारले पनि सुरक्षा सतर्कता बढाएको छ । तपाईँ खाडीका देश र मलेसियामा हुनुहुन्छ भने कुनै स्वास्थ समस्या भएमा वा कोरोनाको शंका लागेमा तुरुन्त स्वास्थ्य जाँच गर्नुहोस् ।

विश्वका दुई सय १३ देशका ५७ लाख १३ हजार ०८२ जनामा सङ्क्रमण फैलिसकेको छ । तीन लाख ५२ हजार ९ सय जनाको ज्यान गएको छ भने २४ लाख ५४ हजार ४५४ जना निको भएका छन् ।

Top