२४ घन्टायता थप २२६ जनामा कोरोना संक्रमण, १७९८ पुगे संक्रमित

काठमाडौं । पछिल्लो चौबीस घण्टामा थप २२६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आज थप २२६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको बताए । जसमा २१३ जना पुरुष र १३ जना महिला रहेका उनले बताए ।
हालसम्म कोरोना भाइरसको आशंकामा पीसीआर विधिबाट ७१ हजार ९०३ वटा नमुना परीक्षण गरिएको उनले जानकारी दिए । उनले पछिल्लो चौबीस घण्टामा कोरोना भाइरसको आशंकामा २ हजार ३ सय १० वटा नमुना परीक्षण गरिएको बताए । मन्त्रालयका अनुसार आज १ लाख ३३ हजार ९ सय ३३ जना सातै प्रदेशका विभिन्न क्वारेन्टाइनमा छन् । आज १५ सय ६९ जना देशैभरका विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत रहेको देवकोटाले जानकारी दिए । कोरोना निको हुनेको संख्या २२१ पुगेको छ । जसमा ४१ महिला र १ सय ८० पुरुष छन् ।

Top