सरकारको कमजोर कुटनीतिले कोरिया उड्न पाएनन् कामदार

सिओल- नेपाल सरकारको कमजोर कुटनीति र वायुसेवा निगमको लापरवाहीका कारण कोरिया उड्ने तयारी गरिरहेका नेपाली श्रमिक मर्कामा परेका छन्। निगमले कोरियामा विमान अवतरणको अनुमति नपाएको जानकारी २१ दिनसम्म पनि नगराउँदा उडानको तयारीमा रहेका नेपाली मर्कामा परेका हुन्।

गत महिना अप्रिल ३० का लागि उडान भर्ने सहमतिमा गैरआवासीय नेपाली संघसँग कोरिया चार्टर उडानको सम्झौता गरेको निगमले सोही मितिका लागि नै अवतरणको अनुमति नपाएको पाइएको छ।
निगमले कोरियामा अवतरणको अनुमति माग गरेपनि कोरियाको परराष्ट्र मन्त्रालयले अप्रिल २९ मा नेपालको परराष्ट्र मन्त्रालयलाई पत्र लेख्दै कोरियामा विमान अवतरणको अनुमति दिन नसकिने बताएको थियो।

तर नेपाल वायुसेवा निगमले भने उक्त पत्र पाएको ३ हप्तासम्म पनि कोरियामा अवतरणको अनुमति पाएको भन्दै उडानको तयारी गर्न गैरआवासीय नेपाली संघलाई ईमेलमा जवाफ पठाएको पाइएको छ।

यसबीचमा कोरिया उड्न लागेका श्रमिकले अनिवार्य स्वास्थ्य परीक्षण गर्नुपर्ने नेपाल सरकारको निर्णय र कोरिया प्रवेश गर्ने विदेशीले अनिवार्य क्वारेन्टाइन सर्टिफिकेट बनाउनुपर्ने कोरिया सरकारको निर्णयका कारण एनआरएनले उडान तालिका परिवर्तन गर्न गरेको अनुरोधलाई पनि निगमले स्वीकार गर्दै लगातार दुई पटक मे ६ र मे १२ का लागि उडान तालिका उपलब्ध गराएर तयारी गर्न लगाएको थियो।

कोरिया सरकारले नेपालको परराष्ट्र मन्त्रालयलाई अप्रिल २९ मा नै कोरियामा नेपाल वायुसेवा निगमको जहाज अवतरणको अनुमति दिन नसकिने बताएपनि नेपाल सरकारले भने कोरिया उड्न लागेका श्रमिकले अनिवार्य स्वास्थ्य परीक्षण गर्नुपर्ने निर्णय समेत गरेको थियो।

सरकारको सोही निर्णयअनुसार श्रमिकले तोकिएको शुल्क तिरेर स्वास्थ्य परीक्षण समेत गराएका थिए। नेपाल वायुसेवा निगमले कोरिया उडानको तालिका नै तोकेकाले श्रमिकले कोरियामा चर्को मूल्य तिरेर क्वारेन्टइनका लागि समेत सम्झौता गरेका थिए।

सबै प्रक्रिया पूरा गरेर कोरिया उड्न तयार श्रमिकलाई अन्तिममा आएर निगमले कोरियामा विमान अवतरणको अनुमति नपाएको जवाफ फर्काएको छ।
अप्रिल २९ मा नै नेपाल सरकारले कोरियाको परराष्ट्र मन्त्रालय मार्फत अवतरणको अनुमति नदिइएको पत्र प्राप्त गरेपनि त्यसको २१ दिनपछि मे १९ मा मात्र सिओल स्थित नेपाली दूतावासले एनआरएनएलाई विमानले कोरियामा अवतरणको अनुमति नपाएको वेहोराको पत्र पठाएको छ।

मे १२ का लागि पनि कोरिया उडान गर्न सकिने बताउँदै आएको निगमलाई एनआरएनले नै कोरियामा अवतरणको अनुमति पाए/नपाएको स्पष्ट हुन अनुरोध गरेको थियो। विमान अवतरण गर्न कोरियाले अनुमति नदिएको सबै सूचना एनआरएनए कोरियाले निगमलाई उपलब्ध गराएपछि मात्र निगमले उडान रद्ध भएको बताएको थियो।

पीडित श्रमिकहरू दलालकै पोल्टामा
नेपाल वायुसेवा निगमको कमजोरीका कारण नेपालमा सक्रिय एयरलाइन्स एजेन्टहरूले चर्को मूल्य लिएर श्रमिकलाई कोरिया ल्याउन दौडधुप सुरु गरेका छन्। कोरियन एयरको एजेन्टका रुपमा नेपालमा काम गर्दै आएको जिएसए नामक एजेन्टले यसअघि एनआरएनएले तोकेको शुल्कभन्दा १ सय ५० अमेरिकी डलर बढी लिएर कोरियन एयरमा श्रमिक ल्याउने तयारी गरेको छ।

एनआरएनए कोरियाले भने अब नेपालबाट श्रमिक ल्याउने विषयमा संस्थाको संलग्नता नरहने बताएको छ।
संस्थाले यसअघि नेपाल वायुसेवाको विमान चार्टरका लागि भनेर संकलन गरिएको शुल्क सम्बन्धीत सबैलाई फिर्ता गरिने बताएको छ।

एनआरएनए कोरियाका अध्यक्ष यज्ञराज सुवेदीले नेपाल एयरलाइन्स मार्फत कोरिया आउनका लागि संस्थासँग सम्पर्कमा रहेका सबैलाई यहाँका नेपाली एयरलाइन्स व्यवसायीहरूसँग समन्वय गरेर ल्याउन पहल गरिरहेको बताए।

Top