खुल्न थाले बजार : व्यवसायी भन्छन्– सतर्कता अपनाएर पसल खोल्न दिइयोस्

काठमाडौं : बन्दाबन्दी (लकडाउन) का कारण बन्द बजार विस्तारै खुल्न थालेको छ । लकडाउनका कारण मारमा परेको भन्दै व्यवसायीहरूले आफ्ना व्यवसाय, पसल खोल्न थालेका हुन् । बौद्ध–जोरपाटी क्षेत्रमा सोमबार पसल खोल्न पाउनुपर्ने भन्दै व्यवसायीहरूले विरोध प्रदर्शन नै गरेका थिए । उनीहरूले आवश्यक सतर्कता अपनाएर पसल खोल्न दिइनुपर्ने माग गरेका छन् ।

बौद्ध–जोरपाटी क्षेत्रमा मेडिकल, खाद्यान्नका पसल, मासु पसलसहित निर्माण सामग्रीका पसल, मोबाइल पसल, कपडा पसल, मदिरका पसलहरू खुलेका छन् । केही दिनयता पसल खुल्ने क्रम बढेसँगै बजारमा चहलपहल पनि बढेको छ ।
चाबहिल चुच्चेपाटीदेखि बौद्ध–पिपल बोटसम्म केही मात्र पसल खुले पनि जोरपाटी ओरालोदेखि नारायणटारसम्म भने अधिकांश पसल खुलेका छन् ।
त्यस्तै, शिवचोकदेखि ग्रिनहिल सिटीसम्मका सबैजसो पसल खुलेका छन् । केही दिनयता आफूहरूले पसल खोलिरहेको व्यवसायीहरू बताउँछन् । बिहान निर्वाध पसल खोले पनि १० बजेपछि भने प्रहरीले पसल बन्द गर्न दबाब दिने गरे पनि व्यवसायीले लुकिछिपी खोल्ने गरेका छन् ।

जोरपाटीमा फेन्सी पसल चलाइरहेका गोविन्द श्रेष्ठ लकडाउनका कारण व्यवसाय नै बन्द गर्नुपर्ने अवस्थामा पुग्न लागेको बताउँछन् । सटर भाडा तिर्न समस्या भएपछि केही दिनयता भने सटर खोल्न थालेको उनले सुनाए । “बिहान १० बजेम्म पसल खोल्न थालेको छु । त्यसपछि प्रहरीले बन्द गर्न भन्छ,” उनले भने, “बिहान १० बजेसम्म पनि २/३ हजार रुपैयाँको व्यापार भइरहेको छ ।” उनले पसल बन्द गर्नेभन्दा व्यवस्थित गरेर खोल्ने व्यवस्था गरिदिन सरकारसँग माग गरे । पसल खोल्न सहज बनाइदिए कोरोनाबाट जोगिन अपनाउनुपर्ने सतर्कता अपनाउन आफूहरू तयार रहेको पनि उनले बताए । “तर, अब पसल बन्द गरेर बस्न सक्ने अवस्था छैन । दिनभर पसल नखोले पसल सधैंका लागि बन्द गर्नुपर्ने अवस्था छ,” उनले भने ।

व्यापारीलाई प्रहरीको आग्रह– लकडाउन नतोडिदिनुस्
मेडिकल र किराना पसल दिनभर खुले पनि अरू पसल भने बिहान मात्र खुल्ने गरेको छ । अर्का व्यवसायी रामचन्द्र नेपाल बजार बन्द नगरी आवश्यक सुरक्षा अपनाएर खोल्नुपर्ने बताउँछन् । “यसरी बन्द मात्र गरेर कहिलेसम्म बन्द गर्ने ? अब यसरी हुँदैन । आवश्यक सतर्कता अपनाएर पसल खोल्न दिइनुपर्छ,” उनले भने, “सरकारले लकडाउन थपिरहने हो भने व्यवसायीले त्यसलाई उल्लंघन गर्नुपर्ने अवस्था आइसकेको छ ।”

उनले लाखौं लगानी गरेको व्यवसायमा ताला लगाएर आफूहरू कहिलेसम्म बस्नुपर्ने भन्दै सरकारलाई प्रश्न पनि गरे ।
केही दिनयता बिहान–बेलुका पसल खोल्न थालेका रामबाबु कुसवाह पसल बन्द हुँदा खाना कसले खुवाउँछ भन्ने अवस्थामा आएको बताए । साइकल मर्मतको काम गर्दै आएका उनले बन्दाबन्दीको विकल्प खोजिनुपर्ने बताए । “पसल बन्द हुँदा हामी गरिखानेहरू समस्यामा प¥यौं । अब खुल्नुपर्छ । काम गरेर खान पाउनुपर्छ,” उनले भने ।

व्यवसायी भन्छन्–अझै कति दिन बन्द गर्ने ?
लकडाउनका कारण पसलहरू बन्द हुँदा व्यवसायीहरूले मारमा परेको गुनासो गर्दै आएका छन् । बजार बन्द हुँदा किसानले गरेका उत्पादनले समेत बजार नपाउँदा किसानहरू मारमा परेका छन् । कोरोना महामारीबाट जोगिन बजार बन्द गर्ने र सतर्कता अपनाएर खोल्नुपर्नेमा व्यवसायीहरूले दबाब दिन थालेका छन् ।

Top