युएईबाट १ सय ६८ जना नेपाली लिएर एयर अरेबियाको जहाज काठमाडौं आइपुग्यो

युएईबाट १ सय ६८ जना नेपाली लिएर एयर अरेबियाको जहाज काठमाडौं आइपुगेको छ।
कोरोना भाइरसको महामारीका कारण घर फर्किएका नेपाली लिएर एयर अरेबियाको जी नाइन १७९१ नम्बरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।
उक्त जहाज दिउँसै आउने भनिए पनि नेपाली दूतावास र एयरलाइन्सबीच समन्वय नहुँदा जहाज उडानमा ढिलाइ भएको थियो। दूतावासले आफूले तयार पारेको सूची अनुसारका यात्रु लैजानु पर्ने बताए पनि एयरलाइन्सले त्यहाँका कम्पनीको सूची अनुसारका यात्रुलाई लैजाने तयारी भएपछि ढिलाइ भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल श्रोतले जनाएको छ।
उनीहरुलाई अब विमानस्थलबाट प्रदेश अनुसार होल्डिङ सेन्टरमा लगिने छ। होल्डिङ सेन्टरसम्म लैजाने र विवरण लिएपछि सम्बन्धित प्रदेशको जिम्मा लगाइनेछ। हरेक प्रदेशका लागि एक एक जना मन्त्रीलाई समन्वयको जिम्मा दिइएको छ।
यसअघि शुक्रबार बिहान म्यानमारबाट २६ जना नेपाली फर्किएका छन्। उनीहरु आजै घर फर्किएको सेनाले जनाएको छ।

Top