कुवेतले यसै सातादेखि नेपाली ल्याइदिने

कुवेतमा अलपत्र परेका नेपालीलाई त्यहाँको सरकारले यसै सातादेखि नेपाल ल्याइदिन थाल्ने भएको छ। कुवेत सरकारले आममाफी दिएका ३ हजार र अन्य नेपालीलाई यसै साताबाट फर्काइदिने कुवेतस्थित दूतावासले जानकारी गराएको छ।

कुवेतबाट बिहीबार वा शुक्रबार पहिलो उडान नेपाल आउने परराष्ट्र स्रोतले जानकारी दियो।

कुवेतले पहिलो चरणमा आममाफी दिएका नेपालीलाई ल्याइदिनेछ। त्यहाँ करिब ३ हजार नेपालीले आममाफी पाएका छन्। उनीहरुलाई घरफिर्ती केन्द्रमा राखिएको छ। यस्तै अरु ५ हजारजति फर्किन चाहेको र उनीहरुलाई पनि त्यहाँका कम्पनीकै खर्चमा फर्काउने व्यवस्था गरिने परराष्ट्र मन्त्रालय स्रोतले नेपालखबरलाई बतायो।

शुक्रबार पहिलो चरणमा दुई देशबाट १ सय ९४ जना नेपाली फर्किएका छन्। अन्य देशबाट भने तत्काल आउने सम्भावना कम देखिएको छ। परराष्ट्र मन्त्रालयले सम्बन्धित देशसँग कूटनीतिक संवाद गरेर कम्तीमा एक उडान गराउन सबै कूटनीतिक नियोगहरुलाई सोमबार पत्राचार गरेको छ।

विदेशमा रहेका नेपालीलाई कसरी फर्काउने भन्ने अन्यौलकाबीच परराष्ट्रले यस्तो पत्राचार गरेको हो। विदेशबाट फर्किनेलाई राख्न होल्डिङ सेन्टर र होटलहरु तयार गरिएपनि फर्काउँदा लागत बढी पर्ने भएपछि समस्या देखिएको छ।

‘कूटनीतिमा सबै कुरा हामीले भनेजस्तो हुँदैन, हामीले निर्णय गरे जसरी नै अहिले हाम्रा नागरिक फर्काउने अवस्था देखिएन, दूतावासहरुलाई कम्तीमा एक उडानको व्यवस्था गरौं भनेका छौं,’ मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘त्यसको अनुभवले बाँकी के कसरी गर्ने निर्णय हुन्छ।’

Top