आर्थिक गतिविधि बढ्दा बैंकहरुमा एलसीको कारोबार पनि बढ्यो

काठमाडौं । केही दिनयता व्यापारी व्यवसायीहरुले सामाजिक दूरी कायम गर्दै व्यापार-व्यवसाय सञ्‍चालन गर्ने निर्णय गरेपछि वित्तीय क्षेत्रमा पनि चहपल बढ्न थालेको छ ।

सरकारले जेठ २० गते १२ दिनको लागि लकडाउन थप गर्ने निर्णय गरेपछि व्यवासायीले सामाजिक दूरी कायम गर्दै लकडाउन उल्लंघन गरेर व्यापार-व्यवसाय सुचारु गरेको थिए । आर्थिक गतिविधि सुचारु हुँदा क्रमशः वित्तीय क्षेत्रमा पनि (एलसी) लगायतको कारोबार बढ्दै नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बताए ।

“दुई चार दिन यता एलसी, बैंक ग्यारेन्टी लगायतको माग बढेको छ,” बाह्रखरीसँग कुरा गर्दै बैंकर्स संघका अध्यक्ष भुवन दाहालले भने, “अहिलेसम्म कर्जाको माग भने छैन तर आर्थिक गतिविधि बढ्दै जाँदा साउनबाट कर्जाको माग पनि बढ्दै जाला ।” निक्षेपमा केही वृद्धि भएपनि कर्जाको माग भने घटेको उनले बताए ।

चैत मसान्तमा ३१ खर्ब ८९ अर्ब रहेको वाणिज्य बैंकहरुको निक्षेप जेठ २३ मा आउँदा बढेर ३२ खर्ब ४७ अर्ब पुगेको छ । यता बैंकहरुको कर्जा लगानी भने चैत मसान्तको भन्दा घटेको छ । चैत मसान्तमा २८ खर्ब ४५ अर्ब रहेको कर्जा लगानी जेठ २३ मा आउँदा २८ खर्ब २४ अर्बमा झरेको छ ।

नयाँ कर्जाको माग नआएको र पुरानो लगानी भएको कर्जा केही असुल हुँदा बैंकहरुको लगानीमा रहेको कर्जा भने घट्दै गएको दाहालले बताए । अहीले ग्यारेन्टी र एलसी खोल्नेको संख्या बढ्दै गएको र एलसी खोलेको सामान आएपछि एक दुई महिनापछि कर्जाको माग पनि बढ्ने उनले विश्वास व्यक्त गरे ।

बैंकका सबै शाखा सञ्‍चालन
लकडाउन खुकुलो हुँदा सीमित शाखाबाट सेवा प्रदान गर्दै आएको बैंकहरुले सम्पुर्ण शाखा कार्यलयबाट सेवा सुचारु गरेको छन् ।
“सीमित मात्रै पास हुँदा सीमित शाखाबाट सेवा सञ्‍चालन भएको थियो,” अध्यक्ष दाहालले भने, “लकडाउन खुकुलो भएपछि हामीले आइतबारबाटै स्थानीय निकायले नखोल्नु भनेको बाहेक सबै बैंकका सबै शाखा सञ्‍चालनमा आएको छ ।”

Top