बुधबार कुवेत, यूएई र अस्ट्रेलियाबाट समस्यामा परेका नेपाली ल्याउने निर्णय

काठमाण्डौ – विदेशमा समस्या भोगेका नेपालीलाई घर फर्काउने सरकारको निर्णयअनुसार बुधबार यूएई, कुवेत र अस्ट्रेलियाबाट नेपाली आउने भएका छन् ।
कोभिड १९ क्राइसिस म्यानेजमेण्ट कमिटी (सीसीएमसी)ले बुधबार कुवेत, यूएई र अस्ट्रेलियाबाट समस्यामा परेका नेपालीलाई ल्याउने निर्णय गरेको हो । अस्ट्रेलियाबाट ११ जना नेपाली आउने निश्चित भए पनि कुवेत र यूएईबाट कति र को को आउने भन्नेबारे छलफल भइरहेको छ ।

दुई देशबाट फर्काइने नेपालीको सूचीबारे भने टुङ्गो लाग्न बाँकी रहेको छ । कुवेतबाट एक र यूएईबाट एक जहाज नेपाली लिएर आउनेछन् । यूएईमा रहेको नेपाली दूतावासले ४१० जनाको सूची पठाए पनि त्यसमा केही तलमाथि हुन सक्नेछ ।

कुवेतबाट भने आममाफीमा सहभागी भएका नेपालीको स्वदेश फिर्तीलाई पहिलो प्राथमिकतामा राखिएको छ । उनीहरुलाई कुवेत सरकारले नै कोरोना जाँचसहित आफ्नै जहाजमार्फत निःशुल्क विमानस्थलसम्म ल्याइदिने कुवेतमा रहेको नेपाली दूतवासले जनाएको छ । दूतावासले २ हजार ९१ जनाको सूची परराष्ट्रमा पठाएको छ । त्यही सूची परराष्ट्रले सीसीएमसीलाई उपलब्ध गराएको छ ।

यूएईबाट घर फर्कने इच्छासहित त्यहाँ रहेको नेपाली दूतावासमा १८ हजारभन्दा धेरैले आफ्नो विवरण टिपाएका छन् भने कुवेतबाट आममाफीमा सहभागी भएकासहित गरेर पाँच हजारदेखि ८ हजारसम्म हुनसक्ने त्यहाँ रहेको नेपाली दूतावासको अनुमान छ । विभिन्न ३० देशमा रहेका नेपाली दूतावासले तत्काल नेपाल फर्काउन पर्ने २४ हजार १४८ जनाको सूची परराष्ट्र मन्त्रालयलाई उपलब्ध गराएका छन् ।

Top