डब्लुएचओले भन्यो : यो लत्तो छोड्ने समय होइन, युरोपतिर नियन्त्रण हुँदा अमेरिका र दक्षिण एसियातिर नराम्ररी फैलिँदै

जेनेभा : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले आफूले पहिले दिएको चेतावनी स्मरण गराउँदै कोरोना भाइरसले विश्वभर खराब अवस्था ल्याएको जनाएको छ। डब्लुएचओले अमेरिकामा एकैदिन अहिलेसम्मकै सबैभन्दा धैरै संक्रमित फेला परेको समेत दावी गरेको छ।

अमेरिकामा जारी अस्वेतमाथिको विभेदविरुद्धको आन्दोलनमा दुरी कायम राख्नसमेत सुझाव दिएको छ। त्यसले पनि अवस्था थप खतरातिर जानसक्ने उसको चेतावनी छ।
कोरोना भाइरसका कारण ४ लाख ३ हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ भने ७० लाख मानिस यसको संक्रमणमा परेका छन्। पूर्वी एसियाबाट सुरु भएको संक्रमण युरोपमा अनियन्त्रित हिसाबले फैलिए पनि अहिले त्यहाँ स्थिति नियन्त्रित हुँदै गएको छ। तर, बाँकि विश्वमा यसको प्रभाव गहिरिँदै गएको छ।

‘युरोपको अवस्थामा क्रमिक सुधार हुँदै गएको भए पनि विश्वव्यापी हिसाबमा भने अवस्था बिग्रँदो छ,’ डब्लुएचओका प्रमुख टेड्रोस अडनोम गेब्रियसले जेनेभामा आयोजित पत्रकार सम्मेलनमा भने, ‘पछिल्ला १० दिनमध्ये ९ दिनमा मात्रै १ लाख नयाँ संक्रमित थपिएका छन्। हिजोमात्रै १ लाख ३६ हजार नयाँ केस रिपोर्ट भएको छ, यो एकै दिन रेकर्ड भएको सबैभन्दा धेरै संख्या हो।’

उनका अनुसार थपिएका संक्रमितमध्ये ७५ प्रतिशत १० मुलुकका रहेका छन्, अमेरिका र दक्षिण एसियाका। ‘यो पेन्डामिकमा परेको ६ महिना नाघिसकेको छ, र यो समय कुनै पनि मुलुकले लत्तो छाड्ने समय होइन,’ गेब्रियसले भनेका छन्। जर्ज फ्लोइडको मृत्यपछि अमेरिकामा सुरु भएको आन्दोलनले कोरोनाको जोखिम थप बढाउने उनको भनाइ थियो। ठूला भेलाले संकट ल्याउने चेतावनी थियो उनको।

‘विश्व स्वास्थ्य संगठन समानताक पक्षमा छ र कुनै पनि विभेदविरुद्धको आन्दोलनलाई पूर्ण रुपमा साथ दिन्छ। हामी सबैखाले अपराधीकरणको खिलाफमा छौं,’ उनले भने, ‘विश्वभर नै हामी यस्ता आन्दोलन सुरक्षित भएर गर्न प्रेरित गर्छौं। कम्तिमा एक मिटर दुरी कायम राखेर विरोध कार्यक्रममा सहभागिता जनाऔं। हात धोऔं। आन्दोलनमा सहभागी हुँदा पनि मास्क लगाऔं।’

Top