असार १ गते ओमनका नेपाली स्वदेश फर्किँदै

ठमाडौं । कोरोनाको असहज परिस्थितिका कारण ओमनबाट स्वदेश फर्किनै पर्ने नेपाली नागरिकहरूका लागि पहिलो उडानको मिति तोकिएको छ ।

नेपाली दूतावास मस्कट, ओमनका अनुसार दूतावासमा विभिन्न माध्यमबाट नेपाल फर्कन नाम टिपाएका मध्ये प्राथमिकताका आधारमा प्रथम उडान आउँदो जुन १५ अर्थात् असार १ गते सलाम एअरमार्फत हुने तय भएको छ ।
प्राथमिकताका आधारमा व्यवस्थित रूपमा नेपाल फर्कने प्रयोजनका लागि विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुरूप यात्रा गर्ने समयमा कम्तीमा सात दिनभित्रको कोभिड १९ नेगेटिभ रिपोर्ट दूतावासमा पेस गर्नुपर्ने बताएको छ ।

दूतावासले तोकेको वा आफूलाई पायक पर्ने कुनै पनि नजिकको परीक्षण केन्द्रमा परीक्षण गराई कोरोनाको पीसीआर नेगेटिभ रिपोर्ट भएकाले सलाम एअरको कलसेन्टर २४२७२२२२ मा फोन गरी टिकट खरिद गर्न वा सो सम्बन्धी थप जानकारी प्राप्त गर्न सकिनेछ । टिकट शुल्क ११५ ओमानी रियल तोकिएको छ ।

कोभिड १९ को पीसीआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएकाहरूले नेपाल गए पश्चात् सिधै घर (होम क्वारेन्टिनमा) जान पाइने समेत दूतावासले बताएको छ ।

Top