यूएईबाट स्वदेश फर्कन पर्ने बिरामी, गर्भवती र आफन्त गुमाएकालाई विवरण बुझाउन दूतावासक‍ो अनुरोध

काठमाण्डौ – आफन्त गुमाएका, बिरामी र चार महिनाभन्दा माथिका गर्भवतीलाई आफूसँग भएको प्रमाण उपलब्ध गराउन यूएईमा रहेको नेपाली दूतावासले अनुरोध गरेको छ ।

यूएईमा कोरोनाको कारण समस्यामा परेका नेपालीलाई प्राथमिकताको आधारमा उद्धार गरिने भएकाले आफन्त गुमाउने, चार महिनाभन्दा माथिका गर्भवती र बिरामीले जतिसक्दो छिटो आफ्नो समस्या खुल्ने प्रमाण बुझाउन अनुरोध गरिएको हो ।

कारोना बाहेकका गम्भीर बिरामी क्यान्सर, अल्सर, मिर्गौलाको डायलसिस गरिरहेका, मुटु रोग भएका बिरामी लगायतले दूतावासको फेसबुक म्यासेन्जरमार्फत आफूसँग भएको प्रमाण दिन सकिनेछ ।
यूएईबाट प्राथमिकताको आधारमा नेपाली ल्याउन असार २ गते, ४ गते, ६ गते र असार ९ गते चार्टर्ड जहाजले उडान भर्ने तालिका तय भएको छ । यूएईको दुबईबाट आउनेले ५०० अमेरिकी डलर, आबुधाबीबाट आउनेले ५०० अमेरिकी डलर र सारजाहबाट आउनेका लागि पनि ५०० अमेरिकी डलर भाडा तोकिएको छ ।

Top