स्थानीय सरकारले भूमिका बढाए नेपालले छिटै कोरोनाको जोखिम घटाउन सक्छ : डब्लुएचओ

काठमाडौं- विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा जोस भ्यान्डिलेरले स्थानीय सरकारलाई कोरोना संक्रमण नियन्त्रणमा भूमिका र सक्रियता बढाउन सुझाव दिएका छन्। डा भ्यान्डिलेरले स्थानीय सरकारले आफ्नो भूमिका र सक्रियता बढाएमा नेपालमा छिटै नै कोरोना संक्रमणको जोखिम घटाउन सकिने समेत बताए। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकारका पदाधिकारीका लागि गरेको अनलाईन प्रशिक्षण कार्यक्रममा संघ र प्रदेशको तुलनामा स्थानीय सरकारहरुले कोरोना केसको पहिचान र व्यवस्थित क्वारेन्टाइन बनाउने विषयमा महत्वपूर्ण भूमिका खेल्न सक्ने बताएका हुन्। आफ्नो क्षेत्रका प्रत्येक व्यक्तिलाई व्यक्तिगत स्वास्थ्य हेरचाह र सचेतना दिने विषयमा पनि उनीहरुको भूमिकाले उल्लेख्य सहयोग पुग्ने उनको भनाइ थियो।

‘नेपालको कोरोना केहीबाहेक समुदायमा फैलिएको अवस्था छैन। समुदायमा जान नदिन महत्वपूर्ण भूमिका स्थानीय सरकारका जनप्रतिनिधिको बढी हुन्छ। अहिले तत्कालको लागि नेपाल बाहिरबाट आउने नेपालीहरुलाई क्वारेन्टाइनमा राख्ने र स्वास्थ्य परामर्श दिनु नै मुख्य रहेको छ,’ नेपाल प्रतिनिधि भ्यान्डिलेरले भने, ‘सानो सानो कामका लागि पनि स्थानीय सरकारले परिवार भित्र पुगेर काम गर्न सक्ने भएकाले उनीहरुको भूमिका ठूलो हुन्छ। त्यसका लागि समुदायसंगको सम्बन्ध गाढा बनाउनुपर्ने हुन्छ। साथै समुदायको स्वास्थ्य सेवा वाहेक अत्यावश्यक सेवामा समेत महत्वपुर्ण भूमिका निर्वाह गर्नुपर्ने हुन्छ।’

कोरोना संक्रमण नियन्त्रणमा गरिएको अन्तराष्ट्रिय अभ्यासको बारेमा जानकारी गराउँदै उनले सामाजिक र भौतिक दुरी कायम राख्दै मास्क,स्यानिटाईजर प्रयोग गर्नुको साथै साबुनपानीले हात धुनुपर्ने लगायतका स्वास्थ्य सचेतना फैलाउनुपर्नेमा जोड दिए। उनले नेपालमा समुदायमा गरिने परीक्षण किटअभाव देखिएको, नेपालमा कुल जनसंख्याको १ प्रतिशतमा मात्रै परीक्षण भएको र प्रति हजार शून्य दशमलव १५ मा मात्रै संक्रमण भएको बताए।

सिन्चुवान विश्वविद्यालयका प्रोफेसर डा टियान विङवीले चीनले जोखिम न्यूनीकरणका लागि गरेको राम्रा अभ्यासबारे जानकारी गराएका थिए। संक्रमण न्यूनीकरण तथा रोकथामका लागि जोखिम नक्सांकन गरी उच्च र निम्न जोखिमको वर्गिकरण गरी परीक्षण बढाउनुको साथै समुदायमा संक्रमण फैलन नदिने तर्फ कार्यक्रमहरु केन्द्रित गर्नुपर्ने सुझाव उनले दिएका थिए।

कार्यक्रममा स्थानीय सरकारका पदाधिकारीहरुले कोभिड नियन्त्रणका लागि संघ र प्रदेश सरकारबाट आवश्यक स्वास्थ्य सामाग्री तथा बजेट व्यवस्था नगर्दा संक्रमण नियन्त्रणका लागि गर्नुपर्ने तयारीहरु हुन नसकेको गुनासो गरेका थिए।

कार्यक्रममा संकटमा जनस्वास्थ्यका चुनौती र स्थानीय सरकारका प्राथमिकताबारे मन्त्रालयले प्रकाश पारेको थियो। कार्यक्रममा स्थानीय सरकारका पदाधिकारी तथा कर्मचारीहरुले जुम मार्फत सहभागिता जनाएका थिए।

Top