अष्ट्रेलियामा हुन्डीमार्फत ठग्नेविरुद्ध नेपाली दूतावास कारबाहीमा उत्रने

हुन्डीमार्फत पैसा पठाउने नाममा अष्ट्रेलियाका नेपाली विध्यार्थी र समुदायमाथि ठगीका घटनाक्रम बढ्न थालेपछि यहाँको राजदूतावासले कारबाही प्रक्रिया थाल्ने भएकाे छ।

राजदूतावासले स्थानीय कानुन व्यवसायी, राष्ट्र बैंकका प्रतिनिधिसहितको बैठक गरी पैसा पठाइदिने नाममा नेपालीमाथि ठगी गर्नेलाई कारबाहीको दायरामा ल्याउने जनाएको हाे।

नेपाली दूतावासले पीडितका विभिन्न उजूरी परेको जनाउँदै ती उजुरीको आधारमा ठगीमा संलग्नहरुको खोजी तीब्र बनाइएको जनाएको छ।

कानुन व्यवसायी तथा सरोकारवालासँग छलफल गरेर सापटी लगायत आर्थिक कारोबारका नाममा ठगी गर्नेको खोजी भइरहेको र कारबाहीको लागि सम्वन्धित निकायमा लैजाने दूतावासले जनाएको छ।

नेपाल पैसा पठाउने बहानामाा ठगी कार्यमा संलग्न केही व्यक्तिलाई सचेत गराउँदै दूतावासले तिर्न बाँकी रकम तत्काल बुझाउन भनेको छ।

ठगी तथा हुन्डी कारोबारीबिरुद्ध कडा कारबाहीका लागि नेपाल र अष्ट्रेलियाका सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय गरेको दूतावासले ठगीमा पर्नेहरुलाई उजुरी दिई सहयोग गर्न आह्वान समेत गरेको छ।

नेपाल राष्ट्र बैंकका सम्पत्ति शुद्धीकरणसम्वन्धी विषय हेर्ने प्रतिनिधिका अनुसार सप्रमाण उजुरी दिएमा नेपालबाटै कारबाही गर्न सकिने छ।

अवैतनिक नेपाली महावाणिज्यदूत, गैर आवासीय नेपाली संघ तथा नेपाली समुदायका प्रतिनिधिहरुले लामो समयदेखि अष्ट्रेलियाका नेपाली समुदाय हुण्डी कारोवारी, सटही, सापटी लगायतका नाममा ठगिँदै आएको जनाउँदै कारबाहीको माग गर्दै आएका थिए।

अष्ट्रेलियामा रहेका कानुन व्यवसायी, गैरआवासीय नेपाली संघ, नेपाली समुदायका सदस्य, पीडित पक्ष र सम्पत्ति शुद्धीकरणका प्रतिनिधिलाई समावेश गरेर नेपाली दूतावासले हुण्डी र यसबाट भएको ठगीका विषयमा चासो देखाएको यो पहिलो पटक हो।

‘हामीकहाँ केही उजुरीहरु आएका कारण सम्वन्धित विज्ञहरुसँग के गर्न सकिन्छ भनेर छलफल अगाडि बढाइएको हो’ राजदूत महेशराज दाहालले भने।

Top