साउनबाट सेयर कारोबारमा विद्युतीय माध्यमबाट मात्रै भुक्तानी News Policy by Remit Khabar - 17/06/20200 काठमाडौं- नेपाल धितोपत्र बोर्डले आगामी साउनबाट धितोपत्रको कारोबारमा आइपिएस वा विद्युतीय माध्यामबाट मात्रै भुक्तानी गर्ने व्यवस्था मिलाउन नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिएको छ। धितोपत्रको दोस्रो बजार कारोबार पूर्णतया यान्त्रीकरण हुन नसकेको अवस्थामा अहिलेको प्रणालीलाई सुधार गर्न आवश्यक रहेको भन्दै धितोपत्र बोर्डले बैंक खाता र डिम्याट खातालाई प्रणालीमा नै आवद्ध गरी कारोबार गर्ने व्यवस्था मिलाउन स्टक एक्स्चेन्जलाई निर्देशन दिएको हो। बोर्डको निर्देशनअनुसार अब धितोपत्रको बिक्रीको भुक्तानी गर्दा अनिवार्य रुपमा आइपीएस वा विद्युतीय माध्यम मार्फत गर्नुपर्नेछ। तत्कालको अवस्थामा धितोपत्र खरीद गर्दा आइपिएस वा विद्युतीय माध्यम मार्फत गर्न प्रोत्साहित गर्ने तर २०७७ श्रावण १ गतेदेखि भने अनिवार्य रुपमा विद्युतीय माध्यमबाट मात्र रकम प्राप्त गर्ने र भुक्तानी दिने व्यवस्था गरिनुपर्ने बोर्डको निर्देशन छ। यस्तो व्यवस्था लागू गर्नका लागि ब्रोकर कम्पनीहरुले आफ्नो खातासमेत अद्यावधिक गर्नुपर्नेछ। नेप्से अनलाइन कारोबार प्रणाली (नट्स) ले लगानीकर्ताहरुको बैंक खाता तथा डिम्याट खाता आवद्ध गरी स्वचालित कारोबार तथा राफसाफ कार्य गर्न नसकेको गुनासाहरु आइरहेको सन्दर्भमा बोर्डले नेप्सेलाई यस्तो निर्देशन दिएको हो। बैंक खाता र डिम्याट खाता एक आपसमा आवद्ध भएसँगै लगानीकर्ताहरुले गरेको कारोबार स्वचालित रुपमा बैंक खातामा रकम तथा डिम्याट खातामा शेयर जम्मा/खर्च हुनेछ। साथै कारोबार भएको दिन नै बैंक खाताबाट रकम प्राप्त गरी अन्य निकायमा भुक्तानी गर्ने वा स्वचालित रुपमा नै जम्मा हुन सक्ने व्यवस्था मिलाउन पनि नेप्सेलाई निर्देशन दिइएको छ।