भीड बढ्यो, जोगिने कसरी ?

काठमाडौं : राजधानीका पहिलाका व्यस्त बजार जानुहोस्– लाग्छ, अहिले देशमा कोरोना महामारी छ र ? जताततै भीडै भीड छ। चोक–चोकमा बन्द गरिएका ट्राफिक लाइट खोलिएका छन्। सवारी जाम सुरु भइसकेको छ। सडकपेटीमा पैदलयात्रुको चाप छ।

अर्कातिर देशमा कोरोना संक्रमण प्रत्येक दिनजसो बढ्दो गतिमा छ। यससँगै चुनौती थपिएको छ– अब जोगिने कसरी ?

संक्रमणको जुन उचाइमा लकडाउन गरिनुपथ्र्यो, खोल्नुपर्ने बाध्यता आयो। जति बेला खोल्दा पनि फरक पर्दैनथ्यो, पूर्ण लकडाउन गरियो। अर्थात्, जोखिमपूर्ण समयमा बजार खचाखच हुँदै गएका छन्। तर, सर्वसाधारणमा त्यसको कुनै परवाह नभएको आभास हुन्छ।

इन्द्रचोकका व्यापारी हरि श्रेष्ठ बुधबार ग्राहक कुरिरहेका थिए। किनमेल गर्ने कम भए पनि ओहोरदोहोर गर्ने टन्नै देखिन्थे। साँघुरो गल्लीमा आपसमा ठोक्किँदै बढिरहेका थिए। ‘हाम्रो ठाउँ नै साँघुरो छ’, उनले भने, ‘बाटो पनि सानो छ। हामीलाई दूरी कायम गर्न एकदम मुस्किल छ। पसलमा किनमेल गर्न आउनेहरू पनि सचेत भइदिए कम जोखिम हुन्थ्यो।’

असन, इन्द्रचोक, न्युरोडलगायत ठाउँमा पुरानै अवस्थाजस्तो मानिसको चाप देखिन थालेको छ। सरकारले असार १ गतेदेखि लकडाउन केही खुकुलोे बनाएसँगै उपत्यकाका प्रायः पसल खुल्न थालेका छन्। केही दिनयता असनका कपडा, भाँडाकुँडा, गहना, खुद्रालगायत सबै पसल खुलेका छन्। कामदार पनि आउन थालेका छन्। भारी बोक्ने मजदुर पनि पसलका सामान ओसार्ने कामको खोजीमा हिँडिरहेका देखिए।

सडकमा हिँड्नेको चाप पनि बढेको देखियो। किनमेलमा आउनेभन्दा हिँडडुल गर्ने धेरै भएको पसले बताउँछन्। ‘चहलपहल त बढ्यो’, व्यापारी सोमनाथ तिवारीले भने, ‘तर, किनमेल गर्ने कम छन्। अन्य हिँडडुल गर्नेकै भीडभाड छ।’

अधिकांशले मास्क नलगाएको, दूरी कायम नगरेको देख्दा लाग्थ्यो– अब कोरोनाले केही गर्दैन। कोही सहजै पसलमा भित्र छिरेर (दूरी कायम नगरी) सामान सोधखोज गरिरहेका थिए। केही साथीहरूसँग पुरानै अवस्थामा जस्तो अँगालो हालेर हिँडिरहेका थिए। अधिकांश पसले पनि असुरक्षित अवस्थामा थिए। ग्राहकलाई निश्चित दूरीमा राख्ने व्यवस्था छैन। पसलेले पनि मास्कलगायत सुरक्षाका उपाय अपनाएको देखिएन।

बढ्दो असुरक्षित भीडलाई जनस्वास्थ्यविद्ले चिन्ताका रूपमा लिएका छन्। राजधानीका साँघुरा ठाउँमा धेरै भीडभाड हुनु जोखिमपूर्ण भएको जनस्वाथ्यविद् डा. समीरमणि दीक्षितले बताए। उनका अनुसार यस्ता ठाउँमा दूरी र मास्कको एकदम जरुरी हुन्छ।

लकडाउन खुकुलिएको त हो। तर, स्वास्थ्य सुरक्षा आफ्नै लागि हो। त्यसलाई वास्ता नगरी हिँड्दा ठूलो समूहलाई संक्रमणको जोखिम हुने डा. दीक्षितको सुझाव छ। ‘लकडाउन खुलाउनै पर्ने थियो। ठीकै हो’, उनले भने, ‘तर, मास्क नलगाई हिँड्नु, दूरी कायम नगर्नु नागरिकको गैरजिम्मेवारीपन हो। यस्तो व्यवहारले सबैलाई असुरक्षित बनाउँछ।’

राज्यले पनि यस्ता ठाउँमा निगरानी गर्नुपर्ने उनको सुझाव छ। ‘अरू बेला डन्डा बर्साउने प्रहरीले अहिले मान्छेको ज्यान बचाउन भीडभाड हुने ठाउँमा दूरी राख्न सहयोग गर्नुपर्छ’, उनले भने, ‘नियम पालना गराएर बजार खुलाउन सहयोग गर्नुपर्छ।’

कोरोना भाइरस महामारीमा धेरैले सोच्ने प्रश्न

शारीरिक दूरी किन चाहिन्छ ?
कोरोना भाइरस संक्रमणबाट जोगिन कम्तीमा ६ फिट शारीरिक दूरी राख्नुपर्छ। भीडभाडमा संक्रमित व्यक्ति रहेछ भने खोक्दा, हाच्छ्युँ गर्दा निस्किने र्‍यालका छिटा श्वासप्रश्वासका माध्यमबाट निरोगी व्यक्तिको शरीरभित्र छिर्न सक्ने सम्भावना हुन्छ। यसबाट संक्रमण हुन सक्छ।

साबुनपानीले कस्तो अवस्थामा हात धुने ? कति पटक ?

खाना तयार गर्नुअघि, खानुअघि र बाहिर कुनै सतहमा छोएपछि हात धुनुपर्छ। शौच गरिसकेपछि हात धुनुपर्छ। स्वास्थ्यकर्मीले पनि सावधानी अपनाउनुपर्छ। यति नै पटक साबुनपानीले हात धुनुपर्छ भन्ने छैन। आवश्यकताअनुसार नै हात धुने हो।

मास्क किन लगाउने ? कस्तो लगाउने ?
कोरोना संक्रमणबाट जोगिन मास्क लगाउने हो। मास्क लगाएपछि निकाल्ने गरिरहनुहुँदैन। चिउँडोमा लगाउनुहुँदैन। नाक र मुख छोपिने गरी लगाउनुपर्छ। बोल्दा नफुक्लने खालको मास्क लगाउनुपर्छ। स्वास्थ्यकर्मीका लागि एन ९५ मास्क नै उपयुक्त हुन्छ। सर्जिकल उपलब्ध नभए कपडाको गुणस्तरीय मास्क लगाउँदा हुन्छ।

स्यानिटाइजर के फाइदाजनक नै हो त ? उपयोग कसरी गर्ने ?
साबुनपानी नभएको वा हात धुन नपाइने स्थानमा रहेको बेला स्यानिटाइजर प्रयोग गर्नु फाइदाजनक हो। यो गुणस्तरीय हुनुपर्छ। हलुका हुने भएकाले पकेटमा राख्न पनि सजिलो हुन्छ। हातमा भाइरस रहेको अवस्थामा स्यानिटाइजरले निस्क्रिय बनाइदिन्छ। स्यानिटाइजर बोक्ने र लगाउने गर्दा फाइदा हुन्छ। आवश्यकताअनुसार यसको उपयोग गर्ने हो।

पञ्जा कस्ता पेसाका व्यक्तिले कति बेला लगाउने ?
कोभिडका बिरामीको सेवा गर्ने बेला स्वास्थ्यकर्मीले पञ्जा लगाउनुपर्छ भने सरसफाइमा संलग्न रहेका बेला सरसफाइकर्मीले। बिरामी बसेको कोठा सफाइमा संलग्न व्यक्तिले पञ्जा लगाउनुपर्छ।

जुनसुकै बेला पञ्जा लगाउनुहुँदैन। पञ्जाबाट पनि संक्रमण सर्ने जोखिम हुन्छ। सर्वसाधारणले लगाइरहन आवश्यक छैन।

खाद्य सामग्रीबाट कोरोना सर्छ कि सर्दैन ? किनमेलमा कसरी सावधानी अपनाउने ?

खाद्य सामग्रीबाट कोरोना भाइरस संक्रमण पुष्टि भएको छैन। फलफूललगायत खाद्यपदार्थ पानीले सफा गरेर खाँदा र तरकारी पनि पानीले सफा गरेर पकाउँदा संक्रमणको जोखिम हुँदैन। किनमेल गर्दा आमनेसामने हुनुभएन। मास्क लगाउनुपर्छ। सामान किनेर घर फर्केपछि साबुनपानीले हात धुनुपर्छ। खानेकुरा तथा तरकारी पनि पखाल्नुपर्छ।

कार्यालयभित्र कस्तो सावधानी अपनाउने ?
दूरी कायम राख्नुपर्छ। मास्क लगाउनुपर्छ। हात फोहोर भएको अवस्थामा नियमित रूपमा साबुनपानीले धुने वा स्यानिटाइजर प्रयोग गर्नुपर्छ। खोकी लागेको वा ज्वरो आएको व्यक्तिलाई कार्यालयमा हाजिर गराउनुहुँदैन। जँचाउन र अस्पताल जान प्रेरित गर्नुपर्छ। थम्बबाट हाजिरी नगर्ने।

सवारी साधन प्रयोगमा के–के उपाय अपनाउने ?
गाडीमा चढ्नुअघि र पछि साबुनपानीले हात धुनुपर्छ। नभए स्यानिटाइजर प्रयोग गर्नुपर्छ। सवारी साधनको ह्यान्डिल, स्टेयरिङलगायतलाई डिसइन्फेक्सन गर्नुपर्छ। सार्वजनिक यातायातमा पहिलाजस्तो कोचाकोच यात्रु राख्नुहुँदैन। आधा यात्रु राखेर चलाउनुपर्छ।

पैसाबाट सर्छ भनिन्छ, हो ? कसरी जोगिने ?
पैसाबाट सर्छ÷सर्दैन भनेर पुष्टि भइसकेको छैन। पैसा लेनदेन गर्दा भौतिक दूरी कायम राख्नुपर्छ। पैसा गन्दा र पैसा लिँदा तथा दिँदा साबुनपानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्नुपर्छ।

एटीएम मेसिन कसरी प्रयोग गर्ने ?
भौतिक दूरी कायम गर्नुपर्छ। एटीएम कार्ड मेसिनमा प्रवेश गराएर घर फर्किएपछि अनिवार्य हात धुने वा स्यानिटाइजर प्रयोग गर्नुपर्छ।

होटल–रेस्टुँरा जाँदा वा खानेकुरा मगाउँदा ध्यान दिनुपर्ने कुरा के–के हुन् ?

होटल तथा रेस्टुराँ भरसक जानुहुँदैन। जानै पर्ने अवस्था आए दूरी कायम गर्नुपर्छ। प्याकिङ गरिएको र सुरक्षित छ भन्ने निश्चित भए पनि सतर्कता अपनाउनुपर्छ। प्याकिङ खोलेपछि हात हुने वा स्यानिटाइजर प्रयोग गर्नुपर्छ। खाएपछि पनि सुरक्षित ढंगले बिसर्जन गर्नुपर्छ।

मोबाइल अरूलाई (फोटो खिच्न, टिकटक बनाउन, नम्बर सेभ गर्न, आफ्नो फोनबाट अरूलाई कुरा गर्न आदि) दिने कि नदिने?

मोबाइल आफूले मात्र प्रयोग गर्नुपर्छ। मोबाइलको सतहमा भाइरस रहन सक्ने भएकाले सकेसम्म अरुलाई दिनुहुँदैन।

मास्क, स्यानिटाइजर र पानीको अभाव भएका ठाउँमा रहेका व्यक्तिले कसरी सावधानी अपनाउने ?

त्यस्ता ठाउँमा रुमाल, टिस्यु पेपर प्रयोग गर्न सकिन्छ। हाच्छ्युँ आयो वा खोकी लाग्यो भने कुहिनोको भागतिर गर्नुपर्छ।

क्वारेन्टाइन नै भीडमय छन्, कसरी जोगिने ?
क्वारेन्टाइन व्यवस्थापनका साथै व्यक्ति स्वयंले पनि सावधानी अपनाउनुपर्छ। आवश्यक परेको अवस्थामा साबुनपानीले हात धुने तथा स्यानिटाइजर प्रयोग गर्नुपर्छ। रुमाल, टिस्यु पेपर प्रयोग गर्नुपर्छ। व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्छ। मद्यपान तथा धूमपानले रोगप्रतिरोधात्मक शक्ति घटाउँछ। त्यसैले मद्यपान तथा धुम्रपानबाट टाढै बस्नुपर्छ।

कोभिड पोजिटिभ भएर निको भएका व्यक्तिसँग कस्तो सम्बन्ध अपनाउने ?
कोभिड–१९ निको भएर गइसकेकाहरू अरू सामान्य व्यक्तिजस्तै आफ्नो दैनिकीमा फर्किन सक्छन्। संसारभरि कोभिड–१९ लाई जितेर आफ्नो सामान्य जनजीवनमा फर्केकाहरू लाखौंको संख्यामा रहेको तथ्यांकले देखाउँछ। बेलायती प्रधानमन्त्री पनि कोभिड–१९ को सफल उपचारपश्चात् दैनिक कार्य आफ्ना सहयोगीका साथ सफलतापूर्वक गर्दै आइरहेका छन्। नेपालमा पनि दैनिक दर्जनांै मानिस कोभिड–१९ संक्रमण मुक्त हुँदै जाने क्रम जारी छ। उनीहरू हाल आफ्नो परिवार तथा समाजमा आआफ्ना काममा व्यस्त छन्। उनीहरू पूर्ण स्वस्थ हुन्।

बाहिरबाट घर फर्किएपछि के गर्ने ?
बाहिरबाट फर्केपछि सबैभन्दा पहिला साबुनपानीले राम्ररी हात धुन भुल्नुहुँदैन। विशेषतः बाहिर भएको अवस्थामा हात सबैभन्दा बढी प्रयोग हुने भएकाले कुनै पनि बेला हातमा कोरोना भाइरस टाँसिएको हुन सक्दछ। यस्तो अवस्था वा संक्रमणको जोखिम अझ विशेष गरेर सार्वजनिक स्थानमा गएपछि बढी हुने गर्दछ।

जमघट, पार्टी, भेला, जुलुस आदिमा जाने कि नजाने ? कुनै सावधानी अपनाएर जान सकिन्छ कि ?

त्यस्तो ठाउँमा जानु भनेको कोभिड–१९ लाई निमन्त्रणा गर्नुसरह हुनेछ। जुन संक्रमण रोक्न अनिवार्य सर्तजस्तै हो। त्यस्तो ठाउँमा ठूलो स्वरले बोल्ने र सामान्यतः लगाएको मास्क पनि तानेर चिउँडोमुनि राख्ने गरिन्छ। जसले गर्दा संक्रमण तीव्र गतिमा फैलिन सक्ने सम्भावना उच्च हुने गर्दछ। यस्ता हुलमुलमा एक जना मात्र पनि संक्रमित सुपर स्प्रेडर रहेछ भने दर्जनौंलाई एकै पटक सजिलै संक्रमण सार्न सक्ने क्षमता राख्ने गर्दछ। तसर्थ त्यस्ता ठाउँमा सकेसम्म अति काम नपरेसम्म जानुहुँदैन।

पशुपक्षीसँगको सम्बन्ध कस्तो राख्ने ?
कोरोना संक्रमण पशुपन्छीबाट मानिसमा सरेको अनुमान गरिएको छ। यद्यपि, कुन पशु वा पन्छीबाट सरेको भनेर ठोस प्रमाण देखाउन भने अनुसन्धानकर्ता दिनरात लागिपरेको पाइन्छ। पशुपन्छीसँग विशेषतः कृषक, पशुपन्छीसँग ढुवानी गर्ने, व्यापारी तथा वधशालामा काम गर्नेहरु नजिक हुने भएकाले कोरोना संक्रमणको जोखिममा पनि उनीहरू नै हुने गर्दछन्। तसर्थ उनीहरूले विशेषतः हात साबुनपानीले नियमित धुने, मास्क लगाउनुको अलावा कृषि महाशाखाले जारी गरेको जैविक सुरक्षाका उपाय अपनाउनुपर्छ।

ब्युटिपार्लर, सैलुन जाने कि नजाने ?
ब्युटिपार्लर, सैलुनमा सामान्यतः दूरी कायम गर्न कठिन हुनेछ। त्यस्ता ठाउँ फराकिलो नहुने र एकै सामान धेरैलाई प्रयोग गरिने भएकाले कोरोना संक्रमणको जोखिम रहन्छ। सेवाग्राहीले पार्लरमा जाँदा सबैभन्दा पहिला दूरी कायम गरेर आफ्नो पालो कुर्नुपर्ने हुन्छ। भित्र गएपछि त्यहाँ रहेका सामान जथाभावी छुनुहँुदैन। सेवाप्रदायीले ग्राहक भित्र छिर्दा र बाहिर निकाल्दा अनिवार्य स्यानिटाइजर प्रयोग गराउने, शरीरको तापक्रम नाप्ने, एउटै सामानको प्रयोग सबैलाई नगर्ने।

सुरक्षाकर्मी, स्वास्थ्यकर्मी आदिका जोखिम कसरी न्यूनीकरण गर्ने ?
सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी फिल्डमा खटिने भएकाले सबैभन्दा उच्च जोखिममा हुने गर्दछन्। यसर्थ यिनीहरूलाई फ्रन्टलाइनर पनि भन्ने गरिन्छ। तथ्यांक हेर्दा पनि यिनीहरू नै सबैभन्दा बढी संक्रमित भएको पाइन्छ। यी समूहलाई उच्च सतर्कता अपनाउन पनि भनिएको हुन्छ। कोरोना संक्रमणबाट बच्न उनीहरूलाई व्यक्तिगत सुरक्षाकवच अथवा पीपीई लगाउन भनिएको हुन्छ। तसर्थ विशेष गरेर आफू आफ्नो काम पीपीई लगाएर मात्र सुरु गर्नुपर्दछ। आफ्नो कोही समकक्षी संक्रमित देखिए क्वारेन्टाइनमा बसी कोरोना परीक्षण गरी संक्रमण नदेखिए आफ्नो दैनिक काममा फर्कन सकिनेछ।

Top