ओमानबाट १४७ नेपाली लिएर काठमाण्डौका लागि उड्यो सलाम एअर

काठमाण्डौ – ओमानबाट १४७ जना नेपाली स्वदेश फर्कंदैछन् । उनीहरुलाई लिएर जहाज काठमाण्डौका लागि उडेको ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले जानकारी दिनुभयो ।

सलाम एअरको फ्लाइट नम्बर ओभी ४२७ जहाजमा ११० जना पुरुष र ३७ जना महिला छन्। जहाज दिउँसो २ बजे काठमाण्डौ आइपुग्नेछ । फर्कने सबैको साथमा पीसीआर परीक्षण नेगेटिभ भएको रिपोर्ट छ । उनीहरु विमानस्थल र होल्डिङ सेन्टर हुँदै सिधै होम क्वरेण्टीनमा जान पाउनेछन् ।

ओमानमा कोरोनाको कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा समस्यामा परेका नेपालीलाई त्यहाँ रहेको नेपाली दूतावासले सलाम अएरमार्फत स्वदेश फर्काइरहेको छ । दूतावासका कर्मचारी र राजदूत आफैं स्वदेश फर्कने नेपालीको बिदाइका लागि विमानस्थल पुगेका थिए ।

दूतावासले सरकारले तोकेकोभन्दा सस्तो भाडादरमा ओमानबाट नेपालीलाई स्वदेश फर्काएको छ । एकतर्फी उडानको भाडा ११५ ओमानी रियाल अर्थात आजको विनिमय दर अनुसार ३६ हजार ४ सय २३ रुपैयाँ तोकेको छ । यो भाडादर सरकारले स्वदेश फिर्तीका लागि तोकेकोभन्दा सस्तो हो । सरकारले उद्धार उडानका लागि हुने चार्टर्ड जहाजको भाडा तीन पटक घटाएर ओमानका लागि ३६८ अमेरिकी डलरमा झारेको छ । यो भनेको आजको विनिमयदर अनुसार ४४ हजार ८१६ रुपैयाँ हो ।

‘समस्यामा परेका नेपालीलाई केही सहयोग होस् भनेर मैले सलाम एअरसँग प्रत्यक्ष कुरा गरेर भाडादर घटाउन अनुरोध गरको हुँ,’ राजदूत पराजुलीले भन्नुभयो, ‘सरकारको भाडादर खारेज गरेको होइन, दूतावास राज्यकै निकाय हो, केही भाडादर घटाएर राज्यलाई नै सहयोग गरेको हुँ ।’

यसअघि असार एक गते पनि १६६ जना नेपाली स्वदेश फर्किसकेका छन् । समस्यामा परेका बेलामा दूतावाससँग नेपालीको अपेक्षा धेरै हुने र त्यो अपेक्षा पूरा गर्न आफूले सक्दो सहयोग गरेको राजदूत पराजुलीको भनाइ छ ।

Top