कोरोना भाइरस नेपालः साउनमा सङ्क्रमण उत्कर्षमा पुग्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइ, के भन्छन् विज्ञहरू

नेपालमा लगातार बढिरहेको कोरोनाभाइरस सङ्क्रमण साउन महिनाको अन्त्यतिर उत्कर्षमा पुग्ने आकलन गरिएको प्रधानमन्त्री केपी ओलीले जानकारी दिएका छन्।

तर विज्ञहरूले भने नेपालमा एक सङ्क्रमित व्यक्तिले कति जनालाई सारिरहेका छन् भन्ने स्पष्ट तथ्याङ्कको अभाव भएकाले अहिलेनै अनुमान गर्न कठिन हुने बताएका छन्।

साथै प्रधानमन्त्रीको अनुमान सही हुनका निम्ति विदेशबाट आउनेहरूलाई राख्ने क्वारन्टीनको उचित व्यवस्थापन र समुदायमा सङ्क्रमण नफैलिन आवश्यक भएको उनीहरूको धारणा छ।

केही साताअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारीहरूले नेपालमा सङ्क्रमतिको सङ्ख्या २५,००० नाघ्ने आकलन गरेका थिए।

नेपालमा दिनदिनै यसरी बढिरहेको छ कोरोनाभाइरस सङ्क्रमण
एकै दिन सर्वाधिक ६७१ जनामा कोरोनाभाइरस सङ्क्रमण, थप दुई जनाको मृत्यु भएको पुष्टि
मनाङमा पनि सङ्क्रमित भेटिएपछि ७७ मध्ये ७४ जिल्लामा कोभिड-१९ पुगेको पुष्टि भएको छ।

बढ्दो सङ्क्रमण साउनमा उच्च हुने
बिहीवार थप ६७१ जनामा सङ्क्रमण पुष्टि भएसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ७,८४८ पुगेको छ भने यसबाट ज्यान गुमाउनेको सङ्ख्या २२ पुगेको छ।
नेपालमा कोरोनाभाइरस सङ्क्रमण
असार ४ गते बुधवार अपराह्ण ४:३० बजेसम्मको तथ्याङ्क

७,८४८
कुल सङ्क्रमण
७४
प्रभावित जिल्ला
विगत २४ घण्टामा पीसीआर परीक्षण ५,७४६

चिकित्सकीय निगरानीमा अलग्गै६,६४०

देशभरि क्वारन्टीनमा१,१६,२१५

अहिलेसम्म निको१,१८६

स्रोतः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय
राष्ट्रिय सभामा बोल्दै प्रधानमन्त्री ओलीले दिनहुँ भारतबाट फर्किरहेका नेपालीहरूको सङ्ख्या विस्तारै कम हुँदै गएको आँकडा प्रस्तुत गरेका छन्।

“चैतदेखि नै जेठसम्म आइपुग्दा दैनिक करिब सात हजारको औसतमा मानिस आएका छन्। यो क्रम अहिले करिब दुई हजारमा घटेको छ,” उनले भने।

“त्यो हिसाबमा साउनको अन्तिम साता वा भदौको पहिलो साता हामीकहाँ सङ्क्रमण उच्च बिन्दुमा पुग्ने देखिन्छ।”

चाडपर्वमा खतरा
तर उनले पहिलो उच्च बिन्दुबाट ओरालो लाग्ने समयमा नै धेरै चाडपर्वको मौसम पनि आइपर्ने हुनाले त्यसले फेरि जोखिम बढाउने बताए।
दशैँ, तिहार, छठ भनेका रमाइला समय हुन्थे तर यसपल्ट त्यसले सङ्क्रमण बढाउन सक्छ…
केपी शर्मा ओली
प्रधानमन्त्री
“दशैँ, तिहार, छठ भनेका रमाइला समय हुन्थे तर यसपल्ट त्यसले सङ्क्रमण बढाउन सक्छ। त्यसो भयो भने फेरि मंसिर अन्तिमतिर उच्च बिन्दुमा पुग्नेछ र फागुनसम्म पुग्दा नियन्त्रण हुनेछ।”

त्यति खेरसम्म बाहिरबाट आउनेहरूलाई व्यवस्थित क्वारन्टीनमा राख्ने र कोही पनि उम्किएर समुदायमा सोझै पुग्न नसक्ने अवस्था गराउन सकिने उनले बताए।

अहिलेसम्म क्वारन्टीनमा एक लाखभन्दा केही बढी मानिस रहेको अनि आइसोलेसनमा ४,८२२ तथा अस्पतालमा ६,७६० मानिस रहेको जानकारी बिहीवार प्रधानमन्त्रीले संसद्‌मा गराएका छन्।

के हो? वास्तवमा के हो कोरोनाभाइरस
कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
कतिचोटि? के दोहोर्‍याएर सङ्क्रमण हुन सक्छ
भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
भिडिओ: हात यसरी धुनुपर्छ
के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा
के भन्छन् विज्ञहरू?
सङ्क्रमण कुन गतिमा बढ्छ भन्ने कुरा एकजना मानिसले कति जनालाई सङ्क्रमित पारिरहेको छ भन्नेमा मुख्य निर्भर हुने विश्वव्यापी प्रवृत्ति रहेको जनस्वास्थ्यविद् डा. शरदराज वन्तले बताए।

“‘तर हामीकहाँ ८० प्रतिशतभन्दा धेरै सङ्क्रमण विदेशबाट आएकाहरूमै देखिएकोले यो आर नट भनिने दरको अनुमान गर्न सकिएको छैन। यसले सङ्क्रमण उच्च बिन्दुमा पुग्ने समयको अनुमान गर्न पनि कठिन बनाएको छ,” उनले भने।

तर यदि सरकारले बाहिरबाट आएकाहरूलाई क्वारन्टीनमा सुरक्षित राख्न सक्यो भने र समुदायमा फैलिनबाट रोक्न सक्यो भने प्रधानमन्त्रीको अनुमान सही नै हुनसक्ने उनले बताए।

अर्का जनस्वास्थ्य तथा महामारीका जानकार डा. बाबुराम मरासिनी पनि समुदायमा नफैलिएमा साउनमा सङ्क्रमण उत्कर्षमा पुगेर ओरालो लाग्न सक्ने ठान्छन्।

नेपालमा कोरोनाभाइरसबाट ‘२५ हजार व्यक्ति सङ्क्रमित हुन सक्ने’
नेपालमा क्वारन्टीनलाई किन मानिसहरू ‘कैदखाना’ भन्दैछन्
“समयमा पीसीआर परीक्षण हुन नसकेको हुँदा सङ्क्रमितहरूले कतिलाई सारिसके भन्न कठिन छ। त्यसमाथि आरडिटीमा सङ्क्रमण नदेखिएको भन्दै खुसी हुँदै घर पुगेकाहरू कत्तिको सचेत र एक्लिएर बसिरहेका छन् त्यसमा पनि समुदायमा सङ्क्रमण फैलिने विषय निर्भर छ,” डा. मरासिनीले बताए।

उनले पनि दशैँ तिहारको बेला विदेश र भारतबाट आउनेहरू कति हुन्छन् त्यसबाट पुन: सङ्क्रमण बढ्ने जोखिम रहेको स्वीकारे।

विदेशको प्रवृत्ति हेर्दा सङ्क्रमण सुरु भएको ६ महिनापश्चात् दर कम हुन थालेको देखिएको भन्दै त्यो हिसाबमा पनि आगामी महिनामा नेपालमा सङ्क्रमण कम हुनसक्ने अनुमान गर्न सकिने जनस्वास्थ्यविद् डा. वन्तले बताए।

तर यी सबै अनुमान समुदायमा सङ्क्रमण ‘सल्किएन’ भने मात्र मिल्ने उनीहरूको ठहर छ।

Sources: BBC Nepali

Top