लागत कटौतीमा बैंकहरू, कल निक्षेपको ब्याजदर ३ प्रतिशतबाट झर्‍यो

काठमाडौं । लकडाउनका कारण बैंकमा कर्जा लगानीको माग शून्य भएपछि बैंकहरूले पनि लागत घटाउन निक्षेपको ब्याज पनि घटाएका छन् । बैंकहरूले संस्थागत प्रकृति कल निक्षेपको ब्याजदर ह्वात्तै घटाएका छन् । चालु आर्थिक वर्षको चैत मसान्तमा ४.२९ प्रतिशत रहेको कल डिपोजिटको भारित औसत ब्याजदर वैशाख मसान्तमा आउँदा २.८२ प्रतिशतमा झारेका छन् ।

एक महिनाकै अवधिमा बैंकहरूले कल निक्षेपको ब्याजदर १.४७ प्रतिशत विन्दुले घटाएको नेपाल राष्ट्र बैंककै तथ्यांकले देखाउँछ । यस्तै बैंकहरूको मुद्दति र बचत निक्षेको ब्याजदर पनि घटेको छ । चैत मसान्तमा ९.७३ प्रतिशत रहेको मुद्दति निक्षेपको भारित औसत ब्याजदर वैशाख मसान्तमा आउँदा ९.४५ प्रतिशत र चैतमा ४.७२ प्रतिशत रहेको बचतको भारित औसत ब्याजदर वैशाखमा ४.२७ प्रतिशतमा झरेको छ ।

सबै प्रकारका निक्षेपको ब्याजदर घट्दा बैंकको निक्षेपको भारित औसत ब्याजदर पनि ६.४४ प्रतिशतमा झरेको छ । चैत मसान्तमा निक्षेपको भारित औसत ब्याजदर ६.७४ प्रतिशत थियो । वैशाख मसान्तमा बैंकहरूको कुल निक्षेपमा मुद्दति निक्षेपको अंश ४७.३६ प्रतिशत, बचतको अंश ३१.३८ प्रतिशत, कल निक्षेपको अंश १०.९१ र चल्ति निक्षेपको अंश ९.३३ प्रतिशत छ ।

निक्षेपको ब्याजसँगै बैंकहरूको कर्जाको ब्याज पनि घट्दै गएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको चौथौ त्रैमासको ब्याज गणना गर्दा चैत मसान्तमा कायम रहेको ब्याजदरमा दुई प्रतिशत विन्दुले घटाएर गणना गर्न निर्देशन दिँदा चैतको तुलनामा वैशाखमा कर्जाको भारित औसत ब्याजदर घटेर ११ प्रतिशतबाट तल झरेको छ ।

चैत समान्तमा ११.७७ प्रतिशत रहेको कर्जाको भारित औसत ब्याजदर वैशाख मसान्तमा आउँदा १०.९९ प्रतिशतमा झरेको छ । गत आर्थिक वर्षको वैशाख मसान्तमा कर्जाको भारित औसत ब्याजदर १२.२ प्रतिशत थियो । राष्ट्र बैंकले कर्जाको ब्याज दुई प्रतिशत विन्दुले घटाउन निर्देशन दिए पनि सोही अनुपातमा निक्षेपको ब्याजदर नघटाएका बैंकहरूलाई राष्ट्र बैंकले तोकेको स्प्रेड रेट कायम गर्न सहयोग पुग्ने देखिएको छ ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत स्प्रेड रेट (कर्जा र निक्षेप बीचको ब्याजदर अन्तर) लाई कडाइ साथ कार्यान्वयन गर्ने राष्ट्र बैंकले बताइसकेको छ । जसअनुसार यही असार मसान्तसम्म बैंकहरूले स्प्रेड रेटलाई ४.४ प्रतिशत कायम गर्नुपर्ने हुन्छ । चैत मसान्तमा ५.०३ प्रतिशत रहेको बैंकहरूको स्प्रेड रेट वैशाखमा समान्तमा ४.५५ प्रतिशतमा झरेको छ ।

राष्ट्र बैंकले तोकेको स्प्रेड रेटले गर्दा पनि लकडाउनयता बैंकहरूमा अधिक तरलता हुँदा पनि बैंकहरूले निक्षेपको ब्याजदर सहज रूपमा घटाउन सकेका छैनन् । तर साउनबाट भने बैंकहरूले निक्षेपको ब्याजदर घटाउने तयारी गरेका छन् ।

Top