पुँजी बजार अध्ययन टोली नेप्से पुग्यो : ब्रोकर लाइसेन्स र सेयर बजार सुधारका विषयमा छलफल

काठमाडौं : पुँजी बजार अध्ययन गर्न भनेर अर्थ समिति अन्तर्गत गठित उपसमितिका पदाधिकारीहरुले शुक्रबार नेप्सेमा पुगेर छलफल गरेका छन् । उप समितिका सदस्यहरुले पुँजी बजार सुधार र विस्तारका लागि सरकारले गर्नुपर्ने कामका बारेमा छलफल गरेका हुन् । यसअघि अर्थ समितिले बैंकलाई ब्रोकर लाइसेन्स तथा मुद्रा बजारसम्बन्धी अध्ययन गर्न भनेर उपसमिति गठन गरेको थियो ।

अध्ययन प्रतिवेदन सार्वजनिक गर्ने अन्तिम तयारी भइरहेका बेला उपसमितिका पदाधिकारीले नेप्से पुगेर बैंकलाई सहायक कम्पनीमार्फत ब्रोकर लाइसेन्स दिन हुने वा नहुने विषयमा छलफल गरेको नेप्से स्रोतले बताएको छ । बैंकलाई ब्रोकर लाइसेन्स दिन उपयुक्त हुने आशय नेप्सेले छलफलको क्रममा दिएको स्रोतले बतायो । यसबाहेक उपसमिति टोलीसँग पुँजी बजार सुधार र विस्तारका लागि सरकारले गर्नुपर्ने कामका बारेमा पनि छलफल भएको छ ।

संघीय संसद अन्तर्गत अर्थ समितिको साउन २९ गते बसेको बैठकले बैंकलाई ब्रोकर लाइसेन्स दिने विषयमा अध्ययन गरी प्रतिवेदन बुझाउन सांसद रामकुमारी झाँक्रीको संयोजकत्व गठित यस उपसमितिलाई २ महिनाको समय दिएको थियो । तर, १ वर्ष बित्न लाग्दा पनि समितिले प्रतिवेदन सार्वजनिक गरेको छैन ।

बैंकलाई ब्रोकर लाइसेन्स दिएमा पुँजी बजारको दायरा फराकिलो हुने, दूरदराजका लगानीकर्ताको पनि सहजै पहुँच पुग्ने अपेक्षा रहेको छ । समितिले त्यतिबेला पुँजी बजार र मुद्रा बजारसम्बन्धी अध्ययन प्रतिवेदन बुझाउनका लागि उपसमिति गठन गरेको भने पनि यसको मुख्य उद्देश्य बैंकलाई ब्रोकर लाइसेन्स दिन हुने वा नहुने भन्नेमै केन्द्रित भइरहेको छ ।

आर्थिक वर्ष २०७४–०७५ को बजेटमा नै बैंकलाई ब्रोकर लाइसेन्स दिने विषय समावेश गरिएको थियो । यस्तै, पुँजी बजार सुधार र विस्तारका लागि राष्ट्र बैंकका डेपुटी गभर्नरको संयोजकत्वमा गठन गरिएको कमिटीले सिफारिस गरेको ५८ बुँदे सुझावमा पनि बैंकलाई ब्रोकर लाइसेन्स दिनुपर्ने विषयलाई उच्चप्राथमिकतामा राखिएको छ । यता, बैंकलाई ब्रोकर लाइसेन्स दिने प्रक्रिया अघि बढिसकेको अवस्थामा अर्थ समितिले नेप्सेलाई पत्राचार गरेर यसलाई तत्कालका लागि रोक्न निर्देशन दिएको थियो ।

Top