महिनौंदेखि विदेशमा रोकिएका ४० शव नेपाल ल्याइयो, अब १६४ शवको व्यवस्थापन बाँकी

काठमाण्डौ – कोरोनाको कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा महिनौंदेखि विदेशमा रोकिएकामध्ये ४० नेपालीको शव ल्याइएको छ ।

विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि चार्टर्ड उडान हुन थालेपछि शुक्रबारसम्ममा ४० जनाको शव नेपाल ल्याइएको हो । बिहीबार मात्रै २४ जना नेपालीको शव नेपाल ल्याइएको थियो ।

अहिलेसम्म कतारबाट २०, मलेसियाबाट ११, कुवेतबाट ६, ओमान, यूएई र साउदीबाट एक/ एक जनाको शव नेपाल ल्याइएको वैदेशिक रोजगार बोर्डले जनाएको छ । ११४ जना मृतकका परिवारले गन्तव्य देशमै अन्त्येष्टिका लागि अनुमति दिएका छन् ।

बोर्डले कोरोनाको कारण उडान नहुँदा शव ल्याउन समस्या भएपछि विदेशमै अन्त्येष्टिका लागि अनुमति दिन परिवारसँग अनुरोध गरेको थियो । जस अनुसार ११४ जना मृतकका परिवारले अनुमति दिएको बोर्डले जनाएको छ । विदेशमै अन्त्येष्टिका लागि अनुमति दिनेका परिवारलाई सान्त्वना राहत स्वरुप ५० हजार रुपैयाँ पनि दिएको छ । अब विदेशमा १६४ जनाको शव बाँकी रहेको बोर्डले जनाएको छ ।

Top