गएको साता विदेशमा ३ नेपालीको कोरोनाबाट मृत्यु : एनआरएनए

७ असार, काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण यो साता विदेशमा रहेका थप तीन जना नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ । यो साता मृत्यु भएका तीनै जना कतारका हुन् ।

गत साता कोरोना संक्रमणका कारण एक जना नेपालीको पनि मृत्यु भएको थिएन । तर यो साता थप ३ जना नेपालीको मृत्यु भएको एनआरएनएले जनाएको छ । योसँगै ९ साताको अवधिमा विदेशमा ज्यान गुमाउने नेपालीहरुको संख्या १ सय ३० जना पुगेको एनआरएनले जनाएको छ ।
हालसम्म बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड र स्वीडेनलगायत १३ देशमा रहेका नेपालीहरुको कोरोना भाइरस संक्रमणका कारण ज्यान गएको गैरआवासीय नेपाली संघ (एनआरएनए) स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाले जानकारी दिए ।

संयोजक डा. सञ्जीव सापकोटाका अनुसार यो साता विदेशमा १० हजारभन्दा बढी नेपालीहरु कोरोना संक्रमणबाट मुक्त भएका छन् । डेनमार्क, नेदरल्याण्ड, अष्ट्रेलिया, माल्टा, जापान, म्यानमार, पोल्याण्ड, रुस, न्युजिल्याण्ड, क्यानाडा, फिनल्याण्ड, आयरल्याण्ड, जर्मनी, स्वीडेन, फ्रान्स, बेल्जियम, हंङ्गकङ्ग, दक्षिण कोरिया लगायतका १८ देशमा बस्ने नेपालीहरु कोरोना संक्रमणबाट मुक्त भएका हुन् ।

संघ अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार हालसम्म विदेशमा रहेका १७ हजार ७ सय ९२ जना नेपालीहरु कोरोना भाइरसबाट संक्रमिक भएका छन् । डा. सापकोटाका अनुसार यही साता अफ्रिकी मुलुकमा रहेका ४ जना नेपालीमा समेत कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नेपालको ८ हजार ६ सय ५ सहित विश्वभरका ३५ देशमा २६ हजार ४ सय २ जना नेपालीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

विदेशमा अलपत्र ३ हजार १ सय ८ जनाको उद्दार

कोभिड–१९ को संक्रमण रोक्न लकडाउन घोषणा गरेसँगै विदेशमा रहेका नेपालीहरुको उद्धार कार्य जारी छ । सरकारले गत ५ जुन तारिखदेखि स्वदेश फर्काउन सुरु गरेको छ । गैरआवासीय नेपाली संघका राष्ट्रिय समिति तथा नेपाल सरकारका कुटनीतिक नियोगको संयुक्त पहलमा गत तीन हप्तामा ३ हजार १ सय ८ जना नेपाली घर फर्किसकेको एनआरएनएले जनाएको छ ।

शुक्रबारसम्म मलेसियाबाट १ सय १८, युएई ३ सय १७ जना, कुवेतबाट ८ सय ९८ जना नेपालीहरु फर्किएका छन् । जापानबाट १३ जना, अफगानिस्तानबाट १८ जना र हङकङबाट ७ जना, म्यानमारबाट २६ जना र अस्ट्रेलियाबाट ११ जनाको उद्धार गरिएको हो ।

यस्तै बंगलादेशबाट २५८ जना, ओमानबाट ३ सय १३ जना, माल्दिभ्सबाट ३ सय ५ जना, कम्बोडियाबाट र सिंगापुरबाट १ सय ४६ जना र थाइल्यान्डबाट २ सय ४८ जना नेपाल फर्किएका छन् ।

यसैगरी कतारबाट ४४ जना, श्रीलंकाबाट ५ जना, साउदी अरबबाट १ सय ५३ जना नेपाली फर्किएका छन् भने दक्षिण कोरियाबाट २ सय २८ जना नेपाल फर्किएका एनआरएनको साप्ताहिक बुलेटिनमा उल्लेख छ ।

४० जना नेपालीको शव नेपाल लगियो

यसैबीच यही साता विदेशमा निधन भएका नेपालीहरुको शव समेत नेपाल ल्याउने क्रम सुरु भएको छ । लकडाउनको अवधिमा विदेशमा बिभिन्न कारणले मृत्यु भएकामध्ये ४० जना नेपालीको शव नेपाल ल्याइएको छ । विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि चार्टर्ड उडान हुन थालेपछि शुक्रबारसम्ममा ती शवहरु नेपाल ल्याइएको हो ।

अहिलेसम्म कतारबाट २०, मलेसियाबाट ११, कुवेतबाट ६, ओमान, यूएई र साउदीबाट एक एक जनाको शव नेपाल ल्याइएको छ । मृत्यु भएका ३१८ जनामा ११४ जना मृतकका परिवारले गन्तव्य देशमै अन्त्येष्टिका लागि अनुमति दिएका पनि छन् ।

अझै १६४ शवको व्यवस्थापन बाँकी छ । ती शव कोरोनाको कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा महिनौंदेखि विदेशमा रोकिएका थिए । उनीहरुको अन्त्येष्टि र व्यवस्थापनको लागि गैरआवासीय नेपाली संघले सम्बन्धीत राष्ट्रिय समितिलाई निर्देशन दिइसकेको गैरआवासीय नेपाली संघको कोभिड १९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए ।

बिदेसिएका नेपालीको कथा र सजिलै पैसा पठाउने जानकारी को लागि Suscribe गर्नुहोस्

Top