ब्रोकर भन्छन्– मार्केट तत्काल खोलौं, लगानीकर्ता भन्छन्– खोल्ने, बन्द गर्ने नगरौं

काठमाडौं । लकडाउनका कारण नेपालको पुँजी बजार निकै अस्तव्यस्त भएको छ । लकडाउन खुकुलो हुँदै गएको अवस्थामा पनि कारोबार सुरु नगर्ने निष्कर्षमा धितोपत्र बोर्ड पुगिसकेको छ । सोही निष्कर्षका आधारमा नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिएपछि नेप्सेले अनिश्चितकालसम्मका लागि सेयर कारोबार स्थगित गरिसकेको छ ।

लकडाउन खुकुलो बन्दै गएको अवस्थामा समेत किन पुँजी बजार खुल्न सकेन ? सेयर बजारलाई अनुत्पादन क्षेत्र प्रमाणित गर्नकै लागि लामो समयसम्म पुँजी बजारलाई अस्थिरतातर्फ लैजान खोजिएको आरोप समेत लाग्‍ने गरेको छ ।

चैत्र ११ गतेदेखि लकडाउन हुँदा सोही बीचमा गत वैशाख ३० र ३१ गते दुई दिन सेयर कारोबार गरेको बोर्ड र नेप्से पछिल्ला दिनमा लकडाउन लुज भइरहेको अवस्थामा किन कारोबार गर्न सक्दैन ?

अब कुनै पनि बहाना नबनाएर बजार खोल्नेतर्फ लाग्‍नुपर्ने ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाट बताउँछन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले गरेको अन्तरक्रियामा उनले तत्काल सेयर कारोबार खोलिनुपर्ने बताए ।

अहिले अवस्था सहज बन्दै गएको अवस्थामा कुनै पनि बहाना बनाएर सेयर बजार कारोबार रोक्नुपर्ने कुनै कारण नरहेको उनले बताए । कुनै बहानामा मार्केटलाई बन्धक बनाउन नहुने उनको भनाइ छ । हचुवाको तालमा सेयर बजारलाई बन्धक बनाएर राख्‍न नहुने रानाभाट बताउँछन् ।

यता, पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल भने केही नीतिगत व्यवस्था गराएपछि मात्रै बजार खोलिनुपर्ने बताउँछिन् । सरकार बजारप्रति स्पष्ट नहुँदा लगानीकर्ता मारमा पर्दै भन्दै उनले सेयर बजार खुलेपछि बन्द नहुने गरी खोल्नुपर्ने बताउँछिन् ।

अहिलेको अवस्थामा कारोबार खोल्दा सेयर बजार घट्ने र लगानीकर्ताले गुमाउने भएकाले केही व्यवस्था नगरेसम्म नखोल्न केही लगानीकर्ताले बोर्डलाई गरेको दबाबका कारण सेयर कारोबार खुल्न नसकेको सेयर लगानीकर्ता नै बताउँछन् ।

Top