‘विदेशी बुहारीलाई १५ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिनुपर्छ’ : नेपाल मजदुर किसान पार्टी

भक्तपुर : नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवाल नेपालीसँग विवाह गरेकी विदेशी महिलालाई कम्तीमा १५ वर्षपछि मात्र अंगीकृत नागरिकता प्रदान गर्नुपर्ने बताएका छन् । १५ वर्षभित्र पनि विदेशी नागरिकता त्यागेको प्रमाणित भएमात्रै अंगीकृत नागरिकता दिने संवैधानिक बन्दोबस्त गर्नुपर्ने उनको भनाइ थियो ।

भक्तपुर नगरपालिकाको आइतबार भएको सातौं नगरसभा उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्यसमेत रहेका सुवालले सत्तारुढ नेकपाले ल्याएको नेपालीसँग विवाह गर्ने विदेशी बुहारीलाई ७ वर्षपछि अंगीकृत नागरिकता दिने प्रस्तावमा असहमति जनाए । ‘नेपाली पुरुषसँग विवाह गरेका विदेशी महिलालाई कम्तिमा १५ वर्षपछि मात्रै अंगीकृत नागरिक दिने संवैधानिक व्यवस्था गर्नुपर्छ’, उनले भने, ‘१५ वर्षभित्र पनि उनले विदेशी नागरिकता त्यागेको प्रमाणित हुनुपर्छ ।’
उनले भक्तपुरमा प्रस्तावित चारवटा नयाँ सहरको सट्टा देशको सन्तुलित विकासको लागि देशका विभिन्न ठाउँमा ससाना सहरहरुको विकास गर्नुपर्नेमा जोड दिए ।

कोरोना भाइरसको महामारीले धेरै कुरा सिकाएको औंल्याउँदै उनले स्थानीय तहहरुले पनि आत्मनिर्भरतातर्फ जोड दिनुपर्ने सुझाव दिए । ‘भक्तपुर नगरपालिकालाई आत्मनिर्भर बनाउने आम्दानीका स्रोतहरुको पहिचान गर्न आवश्यक भइसकेको छ’, भक्तपुर नपामा प्रमुख भइसकेका सांसद सुवालले थपे, ‘राजस्व र कर संकलनले मात्र देश र स्थानीय तहको आर्थिक विकास हुँदैन ।’ उनले कृषिमा युवाहरुलाई आकर्षण गर्ने नीति तथा कार्यक्रम आउनुपर्नेमा जोड दिए ।

नगरसभामा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले आव २०७७/७८ का लागि नपाको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उनले नयाँ नीति तथा कार्यक्रममा चालू आर्थिक वर्षकै धेरै नीति तथा कार्यक्रमलाई निरन्तरता दिएका छन् । मुलुक संघीयतामा गए पनि नीतिभन्दा व्यप्रमुख प्रजापतिले क्तिगत पहुँचको आधारमा संघ र प्रदेशको बजेट विनियोजन हुने गरेको आपत्ति जनाए । ‘अहिले पनि जनप्रतिनिधिहरू सिंहदरबार धाउनुपर्ने सामन्ती संस्कारले निरन्तरता पाइरहेको छ’, उनले भने, ‘केन्द्र र प्रदेशको आदेश र निर्देशनमा शासन चलाउन खोज्नु संघीयताविपरीत छ ।’

स्थानीय तहहरू पूर्ण स्वायत्त हुनुपर्नेमा जोड दिँदै उनले स्थानीय तहको अधिकारमाथि कहींकतैबाट कुनै किसिमको हस्तक्षेप हुन नहुने बताए । नगरसभा उद्घाटन कार्यक्रममा बागमती प्रदेशसभाका सांसद सुरेन्द्रराज गोसाईं, भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, भक्तपुर नपाकी उपप्रमुख रजनी जोशीले काठमाडौं उपत्यकामा भएका बस्तीहरु व्यवस्थित गर्न जरुरी भएको धारणा राखे ।

Top