वैदेशिक रोजगारी खुल्ला गर्न अलमलमा श्रम मन्त्रालय

काठमाडौं– गत ५ गते कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) को निर्देशक समितिको बैठक बस्यो। बैठकले विभिन्न ११ वटा निर्णयहरु गर्‍यो। सोही निर्णयहरुको बुँदा ८ (ख) मा वैदेशिक रोजगारीमा रही बिदामा नेपाल आएका र नयाँ रोजगारीको लागि विदेश जाने श्रमिकहरुको हकमा श्रम मन्त्रालयको सिफारिसमा आवतजावत गर्न अनुमति दिने व्यवस्था गरिएको छ।

जसका लागि कोरोना परीक्षण रिपोर्ट अनिवार्य गरिएको छ। कोरोना परीक्षण शुल्क व्यक्ति स्वयंले बेहोनुपर्ने उल्लेख छ। सिसिएमसीले गरेको निर्णयको सम्बन्धमा विस्तृत रूपमा बुझ्न नेपाल लाइभले सिसिएमसीका सचिव महेन्द्र गुरागाइँलाई सम्पर्क गर्दा उनले नयाँलाई श्रम स्वीकृति जारी गर्ने निर्णय प्राविधिक त्रुटीपूर्ण भएको बताएका थिए।

‘वैदेशिक रोजगारीबाट बिदामा आई लकडाउन अगाडि नै पुनः श्रम स्वीकृति लिएका तथा नयाँ श्रम स्वीकृति लिएर बसेका श्रमिकहरुलाई मात्रै पठाइने खास निर्णय हो। नयाँ श्रम स्वीकृति जारी गर्ने भनेर गलत लेखिएछ।’

गत शुक्रबार साँझ सार्वजनिक गरिएको उक्त निर्णयमा प्राविधिक त्रुटी रहेको प्रतिक्रिया दिए पनि सिसिएमसीले सो निर्णय भने सच्याएन।

सिसिएमसीले श्रम मन्त्रालयलाई पनि शुक्रबार सार्वजनिक भएको निर्णय नै पठाएको मन्त्रालयका सहसचिव उमेश ढुंगानाले बताए।

‘सिसिएमसीले जे निर्णय सार्वजनिक गरेको छ हामीलाई सोही निर्णयको कपि प्राप्त भएको छ। वैदेशिक रोजगारी खुल्ला गर्ने सम्बन्धमाम मन्त्रालयबाट थप केही निर्णय भएको छैन’ सहसचिव ढुंगानाले भने।

सिसिएमसीको निर्णयमाथि मन्त्रीस्तरीय छलफलले टुंगो लगाउने मन्त्रालयले जनाएको छ।

मन्त्रालय नै अलमलमा
सिसिएमसीको निर्णयले यतिबेला श्रम मन्त्रालय नै अलमलमा परेको छ। ‘एकातिर अप्ठ्यारोमा परेका श्रमिकहरुलाई स्वदेश फिर्ती गर्न सहजीकरण गर्ने कुरा छ। अर्कातिर वैदेशिक रोजगार खुल्ला गर्ने निर्णय सिसिएमसीले गरेको छ। यो निर्णयले श्रम मन्त्रालयलाई नै अलमल बनाइदिएको छ’ मन्त्रालयका एक उपसचिवले भने।

अहिले श्रम मन्त्रालय आफ्नै खर्चमा स्वदेश फर्कन नसक्ने श्रमिकहरुलाई वैदेशिक रोजगार कल्याणकारी कोषको रकममार्फत स्वदेश फर्काउने गृहकार्यमा लागिरहेको उनको भनाइ छ।

गत जेठ २३ गतेदेखि सोमबारसम्म विदेशमा समस्या परेका ६ हजार ४८६ नेपाली स्वदेश फर्किएका छन्। स्वदेश फर्किनेहरु अधिकांश रोजगारदाताले खर्च व्यहोरिदिएका र आफैं खर्च व्यहोर्न सक्ने छन्। महिनौंदेखि समस्यामा परेका पैसा नहुनेहरु स्वदेश फर्कन सकेका छैनन्।

जटिल अवस्थामा रहेका नागरिकहरूलाई स्वदेश फर्काउने सम्बन्धमा उदासीन रहेको सरकारले वैदेशिक रोजगारी खुल्ला गर्ने निर्णय गर्न हतारिएको भन्दै यतिबेला चौतर्फी टिकाटिप्पणी हुन थालेको छ।

Top