मलेसियामा कोरोना सङ्क्रमितमध्ये २४४ जना मात्र निको हुन बाँकी, खाडीका देशमा भने सङ्क्रमण बढ्दै

काठमाण्डौ – नेपाली श्रमिकको मुख्य श्रम गन्तव्य देश मलेसियामा कोरोना सङ्क्रमण निकै घटेको छ । मलेसियामा अहिलेसम्म ८ हजार ५९६ जना सङ्क्रमित भएका छन् जसमध्ये ८ हजार २३१ जना निको भइसकेका छन् भने जम्मा २४४ जनाको मात्रै अस्पतालमा उपचार भइरहेको छ ।

मलेसियामा नयाँ सङ्क्रमित पनि एकदमै कम देखिएका छन् । सुरुवातमा मलेसियामा सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढे पनि पछिल्लो समय निको हुने दर बढ्दा सङ्क्रमितको सङ्ख्या भने घट्दै गएको हो ।

मलेसियामा अहिलेसम्म कोरोनाको कारण २४४ जनाको ज्यान गएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मलेसियामा ८१ जना नेपाली श्रमिक सङ्क्रमित भएकोमा उनीहरु सबैजना निको भएको दावी गरिएको छ । मलेसियाले निको हुनेको राष्ट्रियता नखुलाए पनि पछिल्लो समय नयाँ सङ्क्रमित नथपिएको र उनीहरु लामो समयदेखि उपचाररत रहेकाले सबैजना निको भइसकेको दूतावासको दावी छ ।

मलेसियामा कोरोना सङ्क्रमणको जोखिम घट्दै जाँदा गएको मे ४ देखि नै आर्थिक गतिविधि सुरु भएको थियो । अहिले मलेसियामा आर्थिक गतिविधिहरु सञ्चालन भइसकेका छन् ।

मलेसियामा कोरोना सङ्क्रमण घट्दै गए पनि नेपाली श्रमिकको श्रम गन्तव्य खाडीका देशमा भने सङ्क्रमण बढिरहेको छ । गैरआवासीय नेपाली संघ एनआरएनएको स्वास्थ्य समितिका संयोजक डा. सञ्जिव सापकोटाले मध्यपूर्वका देश कतार, कुवेत,साउदी लगायतका देश र अफ्रिकी देशमा सङ्क्रम बढिरहेको बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘हरेक हप्ता त्यहाँ सङ्क्रमण बढिरहेको छ, गएको हप्ता कतारमा कोरोनाबाट नेपालीको ज्यान पनि गएको छ ।’

समितिका अनुसार गएको एक हप्तामा मात्रै तीन जना नेपालीको कोरोनाको कारण ज्यान गएको हो ।

Top