जहाज भाडा घटाउन माग राख्दै एनआरएनसहितका संघसंस्थाले बुझाए राजदूतलाई ज्ञापन पत्र

काठमाडौं-कुवेतबाट नेपाल फर्कनका लागि तय भएको महंगो जहाज भाडा घटाउन माग राख्दै गैह्रआवासीय नेपाली संघ कुवेत (एनआरएनए कुवेत) सहित अन्य श्रमिकहरुका पक्षमा काम गर्दै आएका संघसंस्थाले राजदूतलाई ज्ञापन पत्र बुझाएका छन् ।

कुवेत–काठमाडौंका लागि तय गरिएको एकतर्फी भाडा ४१० अमेरिकी डलर तिर्न श्रमिकहरुलाई समस्या भएकाले भाडा पुनर्विचार गर्न माग राख्दै बुधबार उनीहरुले कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीसमक्ष ज्ञापन पत्र बुझाएका हुन् ।
यस्तो छ ज्ञापन पत्र

श्री दुर्गाप्रसाद भण्डारी ज्यू,
राजदूत, नेपाली राजदूतावास कुवेत ।

विषयः ज्ञापनपत्र

महोदय,
उपरोक्त सम्बन्धमा कोरोना भाइरस (कोभिड–१९) ले विश्वलाई आक्रान्त बनाइरहेको र यो अत्यन्तै कठिन समयबाट हामी गुज्रिरहेका छौं।

देशको अर्थतन्त्रको एकतिहाई बराबरको योगदान पुर्‍याउने वैदेशिक रोजगारमा रहेका श्रमिकमध्ये हामी कुवेतमा रहेका श्रमिक पनि यस महामारीको कारण आपतमा छौं। अत्यन्तै अप्ठ्यारोमा परेकालाई स्वदेश फिर्तिका निम्ति सरकारले तोकेको उच्च भाडादर घटाउन पटक-पटक पहल भएको यहाँलाई थाहै छ। तर कुवेत–काठमाडौंका लागि एकतर्फी ४१० अमेरिकी डलर भाडादर तोकेको दरमा पीडित कामदारलाई फर्कन अप्ठेरो पर्न थालेको जानकारी गराउँछौं ।

आममाफी पाएकालाई सेल्टरसम्म पुर्‍याउन, पीडितलाई राहत र उद्धार गर्न एनआरएनए लगायतका संघसंस्थाका प्रतिनिधि आफ्नो जिन्दगीलाई दाउमा राखेर नेपाली कामदारको सेवामा जुटेको पनि यहाँलाई अवगत नै छ । यो काममा सहकार्य गरिदिएकोमा नेपाली दूतावास, कुवेतलाई पनि धन्यवाद। तर हवाई टिकट सहुलियत गराउन दूतावासले समन्वय र सहकार्य गर्न जरुरी ठानेन। महामारीभन्दा अघिका समयमा कुवेत–काठमाडौ नियमित उडान भर्ने जहाजहरु हुँदाहुँदै महामारीबाट पीडित भएकालाई उद्धार गरेर सहुलियत भाडा दरमा उडाउन कुनै प्रयास गरिएन ।

विदेशी भूमिमा खान बस्न नै समस्या परेकाहरु नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले तोकेको महँगो भाडादरमा नेपाल फर्कन बाध्य भएका छन्। उद्धारको नाममा गरिएको व्यापारले पीडितको घाउमाथि नुनचुक छर्कने काम भएको छ।

साथै अत्यन्तै महँगो भाडादरका कारण स्वदेश फिर्ता हुन नसक्दाको तनाव तथा पीडाबाट उत्पन्न परिस्थिति र निराशाबारे पनि यहाँहरुलाई जानकारी नै होला। यो परिस्थितिको सामना गर्न नसकेर आत्महत्या गरेको समाचार आउँदा हामीलाई दुःख लागेको छ। र यो अप्ठ्यारो परिस्थितिमा यस्ता घट्ना नदोहिरियोस भन्नेतर्फ सबैले सजगता अपनाउनु पर्छ भन्ने कुरामा ध्यानाकर्षण गराउन चाहन्छौं।

महामारीले मानव जीवनमा अकल्पनीय क्षति पुर्‍याएकाे छ। देश महामारीविरुद्ध कठिन लडाइँमा छ। जस्तोसुकै अप्ठ्यारोकाबीच पनि आफ्नो नागरिकको रक्षा गर्नु राज्यको पहिलो कर्तव्य हुन आउँछ। तसर्थ पीडितलाई सजिलो गरी उद्धार गरिदिन हुन तपसिलका बुँदाहरु सहित नेपाली राजदूतावास, कुवेतसमक्ष अनुरोध गर्दछौं।

१) रोजगारी गुमाई लामो समयदेखि मासिक तलब नपाएका, थोरै तलबमा काम गरेका र बिरामीले नेपाल सरकारले तोकेको ४१० अमेरिकी डलरमा टिकट किन्न नसकेको हुँदा पुनर्विचार गरी भाडादर तोकिदिन हुन। सस्तोभन्दा सस्तो दरमा नेपाल लैजानका लागि प्रतिस्पर्धाका आधारमा हवाई कम्पनी छनौट गर्नु हुन।

२) लामो समयदेखि बिरामी अवस्थामा रहेका श्रमिक, महामारीका कारण कम्पनी बन्द भई लामो समयदेखि तलब नै नपाएर अप्ठ्यारोमा परेका स्वयं टिकट काटेर स्वदेश फर्कन नसक्ने अवस्थामा रहेकालाई विदेशी भूमिमा मर्नपर्ने गरी अलपत्र अवस्थामा परेकालाई वैदेशिक रोजगार बोर्डको कल्याणकारी कोषबाट खर्च हुने गरी उद्धार गरेर स्वदेश फर्काउन हुन ।

३) नेपाली राजदूतावास, कुवेतबाट समयमा आवश्यक सूचना प्राप्त नहुने वा सूचना लुकाउने जनगुनासो बढेको र फेसबुक पेजबाट अन्तिम समयमा सार्वजनिक गरिएका कतिपय सूचनाले सर्वसाधारण अन्योलमा परेकाले समयमै सही सूचना दिनुहुन ।

४) खाडी मुलुकमै पर्ने अन्य देशमा नेपाली राजदूतावासले राहत बाँडिरहेको अवस्थामा भोकले छटपटाईरहेका नेपाली नागरिक पटकपटक दूतावाससम्म चर्को घाममा हिँडेर जाँदा पनि कुनै किसिमको सहयोग नहुनुको कारण स्पष्ट पार्न अनुरोध छ । नेपाली राजदूतावास, कुवेतले अहिलेसम्म वितरण गरेको राहत विवरण सार्वजनिक गर्न हुन ।

५) नेपाल सरकारले खाडी मुलुकमा कार्यरत र अहिले आपतमा परेका श्रमिकलाई उद्धार गर्न पठाएको रकम नेपाली दूतावास कुवेतमा कति आएको छ भन्ने विषय सार्वजनिक गरी पीडितलाई यथाशिघ्र उद्धार गर्न हुन ।

६) दूतावासको हटलाइन नम्बरमा फोन गर्दा रिसिभ नहुने र सबै श्रमिकसँग लोकल नम्बर नभएकाले यथाशिघ्र व्हाट्स एप,भाइभर र इमो नम्बरको व्यवस्था गरी सेवा सञ्चालन गर्न हुन ।

७) सर्वसाधारण र गम्भीर अवस्थाका बिमारीले फोन गर्दा एम्बुलेन्स नआउने र अस्पतालमा उपचार पाउन नसकेकाहरुलाई अस्पताल वा सम्बन्धित निकायसँग दूतावासले समन्वय गरि उपचारमा सहजता गराइदिन हुन।

बोधार्थ
नेपाल सरकार, प्रधानमन्त्रीको कार्यालय, सिंहदरबार काठमाडौं
नेपाल सरकार, परराष्ट्र मन्त्रालय, सिंहदरबार काठमाडौं
वैदेशिक रोजगार बोर्डको सचिवालय, काठमाडौं
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद
नेपाल कम्युनिस्ट पार्टी, केन्द्रीय कार्यालय काठमाडौं
नेपाली कांग्रेस पार्टी, केन्द्रीय कार्यालय सानेपा ललितपुर
जनता समाजवादी पार्टी, केन्द्रीय कार्यालय काठमाडौं
नेपाल पत्रकार महासंघ, केन्द्रीय कार्यालय काठमाडौं

Top