सिमकार्ड लिनेले आफ्नै सक्कली परिचयपत्र बुझाउनुपर्ने

काठमाडौं । मोबाइल सिमकार्ड खरिद गर्दा खरिदकर्ताको आफ्नै परिचयपत्र अनिवार्य बुझाउनुपर्ने भएको छ । निर्देशिका जारी गर्दै नेपाल दूरसञ्चार प्राधिकरणले हराएको, बिग्रिएको र नयाँ सिमकार्ड बिक्री गर्दा अनिवार्य रूपमा ग्राहक स्वयं उपस्थिति हुनुपर्ने र सक्कल परिचयपत्र लिन सेवा प्रदायकहरूलाई निर्देशन दिएको हो । सिमकार्ड खरिद गर्दा नागरिकताको प्रमाणपत्र वा मतदाता परिचयपत्र वा राहदानी वा प्राधिकरणले तोकेबमोजिमको अन्य परिचयपत्रहरू सक्कली नै देखाउनुपर्नेछ ।

प्राधिकरणले सेवा प्रदायक आफैंले वा तोकिएको आधिकारिक विक्रेतामार्फत सिमकार्ड बिक्री–वितरण गर्दा कसैगरी एक व्यक्तिको परिचयपत्रको प्रतिलिपि अर्को व्यक्तिले प्राप्त गरेको अवस्थामा अनधिकृत रूपमा अन्य व्यक्तिको मोबाइल नम्बरमा पहुँच पुग्न गई बैंकिङ सेवा, इमेल सेवा, फेसबुकलगायत सामाजिक सञ्जाल र अन्य डिजिटल सेवाहरू तथा डाटाहरूमा समेत अनधिकृत व्यक्तिको पहुँच पुग्न जाने तथा सुरक्षा खतरासमेत बढ्ने भएकाले नयाँ व्यवस्थाका लागि यस्तो निर्देशन दिएको जनाएको छ ।

प्राधिकरणले जारी गरेको निर्देशिकामा भनिएको छ, “अब उप्रान्त सिमकार्डको बिक्री–वितरण गर्दा तथा हराएको वा बिग्रिएको अवस्थामा नयाँ सिमकार्ड उपलब्ध गराउँदा अनिवार्य रूपमा ग्राहक स्वयं उपस्थिति भई ग्राहकको सक्कल परिचय–पत्र (नागरिकताको प्रमाण पत्र वा मतदाता परिचयपत्र वा राहदानी वा प्राधिकरणले तोकेबमोाजिमको अन्य परिचयपत्रहरू) सँग प्रतिलिपि रुजु गरी, ग्राहकले भरेको फाराम चेकजाँच गरी तथा ग्राहक स्वयं उपस्थित हुन नसकेको अवस्थामा कानुनबमोजिमको वारिसनामा वा अख्तियारनामा लिएर आएको व्यक्तिलाई मात्र सिमकार्ड उपलब्ध गराउन यसै सूचनाद्वारा सम्बन्धित सबै मोबाइल सेवा प्रदायकहरूलाई निर्देशन जारी गरिएको छ ।”

निरीक्षण तथा जाँचबुझका क्रममा प्राधिकरणबाट जारी गरिएको निर्देशनको पालना गरेको नपाइए दूरसञ्चार ऐन, २०५३ बमोजिमा कारबाही हुने प्राधिकरणले जनाएको छ ।

Top