झापाली समाज कोरियाले पीसीआर मेसिन सहयोग गर्दै

दक्षिण कोरिया : कोरोना भाइरस (कोभिड–१९) रोकथाम र परीक्षणका लागि प्रवासमा रहेका झापाली युवाले गृहजिल्लामा पीसीआर मेसिन उपलब्ध गराउने भएका छन्।

महामारी रोकथामका लागि झापालाई १६ सय भिटिएम किट उपलब्ध गराएको अन्तर्राष्ट्रिय झापाली समाजले पीसीआर ल्याबको लागि मेसिन प्रदान गर्ने भएको हो। अन्तर्राष्ट्रिय झापाली समाजको सम्पन्न भर्चुअल बैठकले पीसीआर ल्याबको लागि चाहिने मेसिन किन्न आवश्यक सहयोग गर्ने निर्णय गरेको हो।

त्यसका लागि वरिष्ठ उपाध्यक्ष दिपक खनाललाई संयोजकको जिम्मेवारी प्रदान गरिएको छ।मेसिका लागि ३० लाख नेपाली रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।

पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या बढेसँगै कोरोना रोकथामको लागि सहारा नेपालको अगुवाइमा संचालन भइरहेको एकका लागि एक अभियानमार्फत् पीसीआर ल्याब स्थापनाका लागि सहयोग गर्ने बैठकमा छलफल भएको थियो।

करिब १ करोड २० लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको पीसीआर ल्याबमा के कसरी सहयोग गर्न सकिन्छ भन्ने विषयमा बैठकमा छलफल भएको छ।

मध्यपूर्व, ओसिनिया, एसिया तथा यूरोपका अन्तर्राष्ट्रिय झापाली समाजका प्रतिनिधिले बैठकमा भाग लिएका थिए। कोरोना रोकथामको लागि झापामा मात्र नभएर १ नम्बर प्रदेशमै केही योगदान हुने र नेपालमा कोरोना छिटो फैलनबाट रोक्न सकिने विश्वास समाजले लिएको छ।

कोरियामा रहेका सम्पूर्ण नेपाली संघसंस्थासँग सहकार्य गरेर छिटोभन्दा छिटो यो कार्य सम्पन्न गर्न झापाली समाज दक्षिण कोरिया लागि समाजका अध्यक्ष नविन बाँस्कोटाले बताए।

Top