विदेश वा उपत्यकाबाहिरबाट आउने व्यक्ति होम क्वारेन्टिनमा बस्न पाउने Corona News by Remit Khabar - 29/06/20200 काठमाडौं । विदेशबाट या उपत्यकाबाहिरबाट आउने व्यक्तिहरु अब होम क्वारेन्टिनमा बस्न पाउने भएका छन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले विदेश या उपत्यकाबाहिरबाट आउने व्यक्तिहरुलाई वडा कार्यालय र प्रहरीको समन्वयमा घरमै बस्न सक्ने व्यवस्था गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाइँले जानकारी दिए । “हवाइमार्गबाट वा स्थलमार्गबाट उपत्यकाभित्र आउने व्यक्तिले घरमा क्वारेन्टिन बस्न चाहेमा वडाको सिफारिसमा प्रहरीले पनि अनुमति दिन सक्ने व्यवस्था भएको छ,” उनले भने । लकडाउनलाई कसरी अघि बढाउने भन्ने विषयमा भने मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने उनले जानकारी दिए । यसअघि विदेशबाट आउने व्यक्तिहरुलाई अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था गरिएको थियो ।