नागरिकले ‘लापरबाही’ गरेको भन्दै खुकुलो लकडाउन कडा पार्ने सरकारी तयारी News Policy by Remit Khabar - 29/06/20200 सरकारले लकडाउन खुकुलो भएसँगै संक्रमणको जोखिम बढेको भन्दै यसलाई कडाइ गर्ने तयारी गरेको छ। सोमबार कोभिड-१९ संकट व्यवस्थापन केन्द्र(सिसिएमसी)को बैठकमा अहिले भइरहेको लकडाउनको मोडालिटीलाई व्यवस्थित बनाउनेबारे छलफल भएको हो। ‘अहिले जति खुलेका छन्। त्यसलाई बन्द गर्ने भन्ने होइन। तर खुलेका ठाउँमा प्रोटोकलको पालना गरिएको छैन,’सिसिएमसी स्रोतले भन्यो,’पसलमा भौतिक दूरी कायम भएको छैन। मानिसहरू मास्क नलगाइ हिँड्न थालेका छन्। यसले जोखिम बढ्ने खतरा बढेको छ। त्यसैले यसको निगरानी गर्नुपर्छ भनेर छलफल भएको छ।’ त्यस्तै, सिसिएमसीले विदेश पढ्न जानेहरूका लागि भाषा परीक्षा दिने व्यवस्था मिलाउन शिक्षा मन्त्रालयलाई भनेको छ। ‘धेरै भीड नहुनेगरी भाषा परीक्षा दिने व्यवस्था मिलाउनका लागि शिक्षा मन्त्रालयलाई भनिएको छ,’सिसिएमसीका सचिव महेन्द्र गुरागाईंले भने,’टोफेल आइएलटिएसको परीक्षा गर्नका लागि निर्देशिका तयार पार्ने जिम्मेवारी शिक्षा मन्त्रालयलाई दिइएको छ।’