हङ्कङमा ब्रिटिश पासपोर्ट होल्डरले बेलायतको नागरिकता पाउने

लन्डन । हङ्कङमा बसोबास गर्ने ब्रिटिश नेशनल ओभरसिज (बीएनओ) पासपोर्ट भएकाहरुले ब्रिटिश सिटिजनसिपको लागि आवेदन गर्न सक्ने भएका छन् । पूर्व ब्रिटिश उपनिवेश रहेको हङ्कङमा बसोबास गर्ने नागरिकहरुको आधारभूत स्वतन्त्रताको बारेमा प्रधानमन्त्री बोरिस जोन्सनले चासो व्यक्त गरेका छन् । प्रधानमन्त्री जोन्सनकाअनुसार शुरुमा ‘उनीहरुलाई बेलायतमा बस्न र काम गर्न पाउने अधिकार दिइनेछ, त्यसपछि उनीहरुले सिटिजनसिपको लागि आवेदन दिन सक्नेछन् ।’ यसबारेमा बेलायतका विदेश सचिव डोमीनिक राबले सांसदहरुलाई विस्तृत रुपमा जानकारी गराएका छन् ।बेलायतको पूर्व उपनिवेश रहेको हङकङलाई सन् १९९७ पछि त्यहाँको स्वायत्ततामाथि जोखिम पुर्याएको र कानूनी दायित्वको उल्लंघन गरेको भन्दै रावले बेइजिङलाई चेतावनी दिएका छन् । तर चीनले भने आफ्नो आन्तरिक मामला भन्दै अन्तर्राष्ट्रिय रुपमा गरिने आलोचनालाई अस्वीकार गर्दै आएको छ । जुलाई १ तारिखबाट हङकङले सुरक्षा सम्बन्धि नयाँ कानून लागू गरेको छ ।

उक्त नयाँ कानून विद्रोही तथा आतंकवादी गतिविधिमा संलग्न हुनेमाथि लक्षित रहेको छ । उक्त नयाँ व्यवस्थाले ‘एक देश, दुई प्रणाली’ अन्तर्गत सन् १९८५ मा बेलायत र चीन बीचमा गरिएको संयुक्त हस्ताक्षर सहितको सम्झौताको उलंघन भएको बताइएको छ ।

जुन सम्झौताअनुसार कम्तिमा ५० वर्षसम्म केहि निश्चित स्वतन्त्रतालाई सुरक्षित कायम राख्नुपर्ने उल्लेख छ । हङकङमा झन्डै ३ लाख ५० हजार जति ब्रिटिश नेशनल ओभरसिज पासपोर्ट होल्डरहरु रहेका छन् । त्यस्तै अन्य २६ लाख मानिसहरु पनि ब्रिटिश सिटिजनसिपको लागि योग्य ठहरिनेछन् । वर्तमान अवस्थामा तिनीहरु सबैले ६ महिनाको लागि बेलायत प्रवेश गर्न पाउनेछन् ।

Top