टुटल–पठाओलाई जहाँ भेट्छौं, त्यहीँ कारबाही गर्छौं : ट्राफिक प्रहरी

महानगरीय ट्राफिक प्रहरी महाशाखाले टुटल–पठाओ सञ्चालनमा आएको थाहा पाए जहाँ भेट्यो त्यहीँ कारबाही गर्ने चेतावनी दिएको छ।

कोभिड-१९ रोकथाम तथा नियन्त्रण गर्न सिसिएमसीले दुई पांग्रे सवारी साधनमा एक जनामात्र सवार हुन पाउने निर्देशन दिएकोले टुटल–पठाओले सेवा दिन नपाउने महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीम प्रसाद ढकालले जानकारी दिए।

‘अहिले पनि बिरामी बोकेको र अत्यावश्यक कामको लागि दुई जना सवार मोटरसाइकलबाहेक अरूलाई कारबाही गरिरहेका छौं। अहिलेको अवस्थामा टुटल–पठाओले यसरी सेवा सञ्चालन गर्न पाउँदैन,’ ढकालले भने।

अत्यावश्यक व्यक्तिलाई मात्र सेवा दिन सुरू गर्न लागिएको पठाओका क्षेत्रीय निर्देशक अशिम मान सिंह बस्न्यातले जानकारी दिए।

‘हामीसँग ६० हजार राइडर भए पनि अहिलेसम्म १ सय १२ जानलाई मात्र अनुमति दिएका छौं। हामीले त्यस्तै अत्यावश्यक परेकालाई सेवा दिनलाई राइड सुरू गरेका हौं,’ बस्न्यातले भने।
बन्द भएको तीन महिना पछि राइड सेयरका ठुला कम्पनी टुटल र पठाओले आफ्नो सेवा सुरु गरेका छन्।

स्वास्थ्य सुरक्षालाई ध्यानमा राखि सेवा सुरू गरिएको टुटल र पठाओले जनाएको छ।

सार्वजनिक यातायात नचलेको अवस्थामा ग्राहकलाई सेवा दिन मात्र सेवा सुरु गरिएको टुटलका संस्थापक शिक्षित भट्टले जानकारी दिए।

‘हामीले यात्रु शुल्क घटाएका छौ र यो महामारीको अवधिभर राइडरसँग कुनै पनि कमिसन लिदैंनौ। त्यस्तै हामीले राइडरलाई ग्लब्स, मास्क, चस्मा र सेनिटाइजर अनिवार्य प्रयोग गर्नुपर्ने मापदण्ड बनाएका छौं,’ भट्टले भने।

त्यस्तै पठाओले दैनिक ५० जना राइडरको दरले राइडरलाई अनुमती दिदै सेवा बढाइ रहेको पठाओकी मार्केटिङ म्यानेजर सुरक्षा हमालले जानकारी दिइन्।

‘हामीले राइडरलाई प्रोटेक्टिभ सुट अनिवार्य गरेका छौं। त्यसैले दिनमा ५० जनालाई बोलाएर सुट वितरण गछौं र उनीहरुलाई राइडको अनुमति दिन्छौ,’ उनले भनिन्।

पठाओले प्यासेन्जर र राइडरको स्वास्थ्य सुरक्षालाई विशेष ध्यान दिएको हमालको दावी छ।।

‘हामीले राइडरलाई प्रोटेक्टिभ सुट, २० ओटा मास्क। सेनिटाइजर दिएका छौ र प्रत्येक यात्रुलाई अनिवार्य रुपमा मास्क लगाउनुपर्ने मापदण्ड बनाएका छौ। त्यस्तै केही दिनमा हामी मोटरसाइकल स्यानिटाइज गर्ने स्प्रे पनि राइडरलाई उपलब्ध गराउछौं,’ हमालले भनिन्।

पठाओको कमिसन र शुल्कमा कुनै परिमार्जन नगरिएको हमालले जानकारी दिइन्।

Top