अमेरिका, ब्राजिल र भारतमा कसरी भयो कोरोनाको भयानक परिणाम ?

धेरै देशहरुले पछिल्लो समय लकडाउन खुलाउने सम्बन्धी धैर्यता गुमाउँदै जाँदा हतारिनुको भयानक परिणाम देखा परिरहेको छ । त्यसरी सहि समय नआइनकन लकडाउन खुलाएका १८ वटा मुलुकहरुबारे गरिएको वैज्ञानिक विश्लेषणमा, महामारीलाई नियन्त्रणमा ल्याउन सफल तीमध्ये अधिकांश मुलुकहरुले संक्रमण सङ्ख्या कम भएपछि मात्र लकडाउन खुलाएको पत्ता लागेको हो । तर त्यस विपरीत कदम उठाएका ४ मध्ये तीनवटा देशहरुमा भने मृतकको सङ्ख्या विश्वकै सबैभन्दा उच्च दरमा पुगेको पाइएको छ ।

ती देशहरु हुन् अमेरिका, ब्राजिल र भारत जसले या राम्ररी लकडाउन जारी गर्न सकेनन् या संक्रमण सङ्ख्या नघटिकन लकडाउन खुलाएका हुन् । शुक्रबार बेलुकासम्म भारतमा संक्रमितको सङ्ख्या ६ लाख नागेको छ भने १८ हजार धेरैको मृत्यु भएको छ । त्यस्तै अमेरिकामा चाहिँ २७ लाख बढी बिरामी छन् र १ लाख ३० हजारको मृत्यु भइसकेको छ । यता ब्राजिलमा पनि १५ लाख संक्रमित छन् र मृत्यु हुनेको सङ्ख्या ६१ हजार नागेको हो ।

यसैका आधारमा मंगलबार मात्र युरोपेली युनियनले भ्रमण र यात्राका लागि सुरक्षित निर्धारित भएका १५ वटा देशलाई युरोपेली क्षेत्र प्रवेशमा अनुमतिका लागि सिफारिस गरेको हो । ती सबै राष्ट्रहरुमा पछिल्लो १४ दिन संक्रमण दर दैनिक घट्दै गएको अवस्था हुनुपर्छ । ती देशहरु हुन्– अल्जेरिया, अष्ट्रेलिया, क्यानडा, जर्जिया, जापान, मोन्टेङ्ग्रो, मोरोक्को, न्युजिल्यान्ड, रुवान्डा, सर्बिया, दक्षिण कोरिया, थाइल्यान्ड, टुनिसिया, उरुग्वे र चीन । जहाँ नयाँ संक्रमण दर नघटेसम्म लकडाउन खुलाइएको थिएन ।

यो सूचीमा राख्नु अगाडि उक्त देशहरुले कोरोना नियन्त्रणका निम्ति अपनाएका कन्ट्याक्ट ट्रेसिङ लगायत प्रक्रिया कति विश्वासिला छन् भन्ने पनि जाँच गरिएको थियो । यसरी भाइरस उत्पति भएको चीन समेत यो सूचीमा छ भने अमेरिका चाहिँ निषेधित छ ।

अध्ययनका अनुसार यी सबै देशहरुमा देखिएको एउटा समान विशेषता भनेको, अधिक आर्थिक दबाबका वावजुद यिनीहरुले सामाजिक दुरीको नियम नहटाउने निर्णय गरे र लकडाउन खुलाउँदा पनि अत्यन्तै प्रक्रियाबद्ध ढङ्गमा सावधानी पूर्वक कदम उठाएका थिए ।

वैज्ञानिकहरुले पनि यसअघि नै लकडाउनका कारण विश्वका कारोडौँ मानिसहरुको ज्यान बचाउन सफल भइएको बताइसकेका छन् । वैज्ञानिक जर्नल नेचरले गत महिना प्रकाशित गरेको अध्ययनमा अप्रिलको सुरुवातमा, लकडाउन नीतिकै कारण चीनमा मात्र २८ करोड बढी, इटलीमा झन्डै ५ करोड र अमेरिकामा पनि ६ करोड जीवन क्षति हुनबाट जोगिएको भनि उल्लेख गरेको थियो ।

युनिभर्सिटी अफ क्यालिफोर्नियाका ग्लोबल पोलिसी डिरेक्टर एवम् प्रोफेसर सोलोमन हसिआङ भन्छन्, “अहिलेसम्म मान्छेको कुनै पनि निर्णयले यति छोटो समयमा यति धेरै जीवन बचाउन सकेको थिएन । हो यसबाट धेरैलाई आर्थिक र व्यक्तिगत क्षति भएको छ तर हाम्रो डाटा हेर्दा यसले एकदम महत्वपूर्ण तरिकाले रोग नियन्त्रणमा फरक पार्न सकेको देखिन्छ । ”

लकडाउन कति सफल रह्यो भन्ने विभिन्न कारणहरुमा निर्भर हुन्छ र यसमा कति छिटै जारी गरिएको थियो भन्ने पनि अधिक जरुरी छ । यसरी विभिन्न मुलुकले लकडाउनलाई अलग अलग रुपमा लिएका छन् र यस सम्बन्धी फरक नीति अपनाइरहेका छन् । जस्तै इटली वा स्पेनमा अतिआवश्यक काम बाहेक घर बाहिर निस्किएमा जरिवाना तिर्नुपर्ने हुन्छ भने जापानमा चाहिँ ‘घरैमा बस्नु’ , सरकारको आदेश भन्दा पनि सुझाव सरह थियो । यता अष्ट्रेलिया, क्यानडा र न्युजिल्यान्डले चाहिँ संक्रमण देखिएलगत्तै यात्रामाथि प्रतिबन्ध लगाएका हुन् भने मोरोक्को, अल्जेरिया र जर्जियामा कोभिडको पहिलो असर विद्यालयहरुमा परेको थियो ।

यसैगरी अति जरुरी बाहेकका व्यवसाय नखुलाउने, क्वारेन्टिनको राम्रो व्यवस्थापन गर्ने, आइसोलेसनलाई अनिवार्य बनाउने जस्ता नीति पनि प्रभावकारी साबित भएका छन् । उदाहरणका लागि अल्जेरिया, रुवान्डा, मोन्टेनेग्रो र चीनमा लकडाउन खुकुलो पार्दा संक्रमण दर फेरि बढ्न थालेपछि स्थानीय रुपमा पुनः लकडाउनमा कडाइ गरिएको हो ।

राजधानी बेइजिङमा अघिल्लो महिना फेरि अर्को खाद्य बजारमा संक्रमितहरु फेला परिरहेपछि लकडाउन पुनः जारी गरिएको थियो । मोन्टेनेग्रोले चाहिँ गत हप्तादेखि फेरि सामुहिक भेला हुन निषेध गरेको हो । यता रुवान्डामा पनि केही समुदायमा भाइरस फैलिरहेको पाइएपछि केही सङ्ख्यामा गाउँहरुमा लकडाउन पुनः सुरु भएको छ ।

तर अर्कोतर्फ लकडाउनले पारिरहेको आर्थिक र व्यक्तिगत क्षति पनि अल्कपनीय स्तरमा पुगिरहेकाप्रति ठूलो चिन्ता व्यक्त गरिएको छ । लाखौँ, करोडौँका सङ्ख्यामा मानिसहरु घरभित्रै बस्नुपर्दा अचानक बेरोजगारी बढेको छ भने बालबालिकाको पढाइ, कार्यस्थलको प्रभावकारीता नराम्ररी प्रभावित भएका हुन् । – सीएनएन

Top