कर्फ्यु हटाएपछि साउदी अरब र यूएईमा कोरोना संक्रमण वृद्धि

रियाद । नोभेल कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि जारी गरिएको कर्फ्यु हटाएपछि साउदी अरब र यूएईमा कोरोना संक्रमितको संख्यामा वृद्धि भएको छ । साउदी अरबमा कोरोना भाइरस संक्रमितको संख्या दुई लाखभन्दा बढी पुगेको छ भने छिमेकी यूएईमा संक्रमितको संख्या ५० हजारभन्दा बढी पुगेको छ ।

यूएईमा मेमा दैनिक ९०० संक्रमित पुगेकामा विस्तारै घट्दै दैनिक तीन सयदेखि चार सयसम्म फेला परेका थिए । तर, शुक्रबार एकैदिन ६०० र शनिबार ७०० कोरोना संक्रति थपिएका थिए ।

गत महिना दुवै अरबी मुलुकहरुले आर्थिक क्षेत्रमा लगाइएका सम्पूर्ण प्रतिबन्धहरु हटाउने घोषणा गरेका थिए । दुवै मुलुकमा मार्च मध्यदेखि नै कोरोना संक्रमण नियन्त्रणका लागि प्रतिबन्धहरुसहितका कर्फ्यु जारी गरिएको थियो ।

अन्य खाडी मुलुकहरुले पनि प्रतिबन्धहरु विस्तारै हटाउँदै लगेका छन् । कुवेतमा आंशिक कर्फ्यु जारी गरिएको छ भने कतार, बहराइन र ओमानमा अहिले कर्फ्यु हटाइएको छ । -अलजजिरा

Top