अमेरिकामा अन्तर्राष्ट्रिय विद्यार्थीहरुको भिसा नियम बदलियो

काठमाडौँ । अमेरिकामा अध्ययन गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीहरुले अमेरिका छोड्न पर्ने हुनसक्ने बताइएको छ ।
कोरोना भाइरसको महामारीका कारण धेरै जसो विश्वविद्यालयले आफ्ना क्लासहरु पूर्णरुपमा अनलाइन गरेकाले सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि दिइने भिसा नियममा परिवर्तन गरेको छ ।

अमेरिकाको प्रवासन एजेन्सी (युएस इमिग्रेशन एण्ड कस्टम एजेन्सी) ले पूर्णरुपमा अनलाइन कक्षा बनाएका विश्वविधालयमा पढ्ने अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा फिर्ता लिने बताएको छ ।

योसँगै अमेरिकामा पढ्ने हजारौं विद्यार्थी प्रभावित हुने बताइएको छ । अमेरिकी सरकारको यो घोषणाबाट अमेरिकामा विश्वविधालयमा पढ्न आएका, विभिन्न ट्रेनिंग कार्यक्रममा गएका र नन एकेडेमिक र भोकेस्नल अध्ययनका लागि पुगेकाहरु प्रभावित हुने बताइएको छ ।

अमेरिकाको प्रतिष्ठित हार्वर्ड विश्वविद्यालयले आफ्ना सबै कक्षा अनलाइन गर्ने घोषणा गरेको छ । यो घोषणापछि हार्वर्डमा अध्ययन गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीहरु पनि अन्योलमा परेका छन् । सरकारको नियम अनुसार अब उनीहरु आआफ्नो देश फर्किनुपर्ने हुन्छ ।

पूर्णरुपमा अनलाइन भएका विश्वविधालयमा अध्ययन गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीलाई भिसा नदिने अमेरिकी निर्णयले अहिले व्यापक अन्योल भएको बताइएको छ ।

Top