जापानमा पढ्न चाहने निजामती कर्मचारीलाई छात्रवृत्ति रकम थप

काठमाडौं । जापान सरकारले जापान पढ्न जाने नेपालको निजामती सेवामा कार्यरत कर्मचारीलाई प्रदान गर्ने छात्रवृत्ति रकम थप गरेको छ । सन् २०२० देखि २०२३ सम्म जापानमा अध्ययन गर्न चाहने सरकारी कर्मचारीलाई छात्रवृत्ति प्रदान गर्न जापान सरकारले नेपाललाई ४० करोड रुपैयाँ अनुदान सहायता गरेको हो ।

सहयोग रकम आव ०७७–७८ को मानव संसाधन विकास छात्रवृत्ति परियोजना कार्यान्वयनमा खर्च हुनेछ । सहायता सम्झौतामा अर्थ–सचिव शिशिरकुमार ढुंगाना र जापानी राजदूत साइगो मासामिचीले हस्ताक्षर गरे । यसैगरी कार्यक्रमा कार्यान्वयनका लागि अनुदान सम्झौतामा मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र जाइका नेपालका प्रमुख प्रतिनिधि आसाकुमा युमिकोले हस्ताक्षर गरे ।

यो अनुदान रकम छात्रवृत्ति प्रक्रिया तथा व्यवस्थामा खर्च हुनेछ । जसमा विश्वविद्यालयको शुल्क भुक्तानी, बसोबास भत्ता, बन्दोवस्ती भत्ता, बिमा तथा अन्य आधार भत्ता र शैक्षिक सामग्री खर्च समावेश हुनेछन् । छात्रवृत्तिले जापानमा अध्ययन गरेर स्वदेश फर्कन चाहने प्रतिस्पर्धी युवा निजामती कर्मचारीलाई जापानामा दुई वर्षे स्नातकोत्तर र तीनवर्षे विद्यावारिधि गर्ने अवसर दिनेछ ।

यसअघि २०१६ देखि २०१९ को अवधिमा ८० निजामती कर्मचारीले स्नातकोत्तर अध्ययन गरिसकेका छन् ।

Top