वित्तीय संकटका कारण लेबनानमा ५६० होटल बन्द

काठमाडौं : कोभिड–१९ को विश्वव्यापी प्रकोपका कारण पर्यटक अभाव भएपछि लेबनानमा ५६० वटा होटल बन्द भएका छन् । होटेल व्यवसायीहरूको साझा संस्था, ‘सिन्डीकेट अफ होटल आउनर इन लेबनान’ का अध्यक्ष पियरे आश्करका अनुसार लेबनानको पर्यटनमा सबैभन्दा महत्वपूर्ण भूमिका निर्वाह गर्ने खाडीका पर्यटकहरूको आवागमन नहुँदा चरम वित्तीय समस्याको सामना गर्नु परेको हो ।

आशकरले भने, “लेबनानमा कोभिड–१९ संक्रमित संख्या बढ्न थालेपछि युरोपेली संघले पनि पर्यटक जान निषेध गरेको छ । यो निधेष आजसम्म पनि कायम छ ।” यसबाट समस्या थप बढेको हो । लेबनानले पर्यटन व्यवसायबाट सन् २००९ मा ८ अर्ब ५० करोड र सन २०१० मा ९ अर्ब २० करोड अमेरिकी डलर आम्दानी गरेको थियो ।

तर पछिल्ला वर्षहरूमा राजनीतिक स्थायित्व नहुँदा लेबनानमा यूरोपबाट आउने पर्यटकको संख्यामा भने निकै कमी हुँदै आएको थियो । यससँगै आम्दानी पनि घट्दो क्रममा थियो । गत वर्षको अक्टोबरमा भएको राष्ट्रव्यापी विरोधका कार्यक्रमका कारण संकटमा पर्न सुरु गरेको होटल क्षेत्र कोरोना महामारीका कारण थप प्रभावित बनेको हो ।

देशका प्रसिद्ध तथा ठूला होटलहरू अल–हब्तोर, मुन्रो र ब्रिस्टल होटलसहित अन्य ५६० होटल पूर्णरुपमा बन्द भइसकेका छन् । पर्यटन संस्थाहरूले सरकारसँग कर छुट, कर्जा भुक्तानी गर्ने समय थप्ने तथा बिजुलीमा सहुलियत जस्ता सुविधा माग गरेका थिए । तर सरकारबाट उक्त सहयोगको प्रतिबद्धता नआएपछि होटेलहरु बन्द गरिएका हुन् ।

Top