सङ्क्रमणकाे दर घट्दै, सङ्क्रमितमध्ये आधा बढी निकाे भए

काठमाण्डौ – नेपालमा पछिल्लो २४ घण्टामा थप ७० जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । शनिबार थपिएकासँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या १६ हजार सात सय १९ पुगेको छ ।

त्यस्तै शनिबार नै चार सय ३१ जना काेराेना सङ्क्रमणमुक्त भएर घर फर्किएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । अब नेपालमा काेराेना सङ्क्रमणलाई जितेर घर फर्किनेकाे सङ्ख्या आठ हजार चार सय ४२ पुगेकाे छ ।

अहिलेसम्म काेराेनामुक्त हुनेकाे याे सङ्ख्या कुल सङ्क्रमण पुष्टि भएकाेमध्ये आधाभन्दा धेरै हो ।

सरकारले ६ वटा जिल्लामा कोरोना सङ्क्रमित नरहेको जनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भोजपुर, सोलुखुम्बु, धनकुटा, मुस्ताङ, हुम्ला र मनाङमा एक जना पनि सक्रिय सङ्क्रमित छैनन् । यी जिल्लामा यसअघि सङ्क्रमित भेटिए पनि सङ्क्रमण पुष्टि भएका सबै निको भएर डिस्चार्ज भएकाे मन्त्रालयले जनाएको छ ।

६ जिल्ला काेराेनामुक्त भएसँगै ७१ जिल्लामा काेराेना सङ्क्रमण सक्रिय रहेकाे मन्त्रालयले जनाएकाे छ ।

यसैबीच सरकारले काेराेना भाइरसकाे पीसीआर परीक्षण भने घटाउँदै लगेको छ । हरेक दिन साढे चार हजारको औसतमा परीक्षण गरिरहेको सरकारले शनिबार तीन हजार ६ सय ४८ जनाको मात्रै पीसीआर विधिबाट कोरोना परीक्षण गरेको छ ।

मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गाैतमका अनुसार अहिलेसम्म पीसीआर विधिबाट दुई लाख ७९ हजार पाँच सय ९९ जनाको पीसीआर परीक्षण भएको छ । अहिले देशभरिका क्वरेण्टीनमा २४ हजार ९७ जना रहेका छन् ।

Top