इजी ट्याक्सी नेपाल एपले ट्याक्सी चालकहरुको कोरोना बीमा गरिदिने

‘इजी ट्याक्सी नेपाल’ एपले टयाक्सी चालकहरुको कोरोना बीमा गरिदिने भएको छ।
काठमाडौं उपत्यकाका करिब ११ हजार ट्याक्सी चालकहरुको बीमा गरिदिने ‘इजी ट्याक्सी नेपाल’ले बताएको छ।

यो सेवा लिन ट्याक्सी चालकहरुले इजी ट्याक्सी नेपाल एपमार्फत ट्याक्सी सेवा संचालन गरिएको हुनुपर्नेछ वा आगामी दिनमा इजी ट्याक्सी नेपाल एपमा आबद्ध हुने प्रतिबद्धता गर्नुपर्ने कम्पनीले जनाएको छ।

यस इजी ट्याक्सी नेपालको एपमार्फत यात्रुले सजिलै ट्याक्सी बोलाउन सक्नेछन् भने ट्याक्सी चालकले पनि सजिलै यात्रु पाउँनेछन्।

यस एप भित्र चालक तथा यात्रुलाई सुरक्षित गराउनको लागि म्यानुअल दर्ता सिस्टमको पनि व्यवस्था गरिएको छ। जसको माध्यमबाट यात्रुको मोबाइलमा कुन नम्बरको ट्याक्सीमा कुन स्थानसम्म जाँदैछु भन्ने कुरा जानकारी प्राप्त हुन्छ। ट्याक्सी चालकले यात्रुलाई कुन स्थानबाट कहाँ पुर्याउने हो सजिलै दर्ता गर्न सक्नेछन्।

यसबाट चालक तथा यात्रु दुबै सुरक्षित हुनुको साथै कुनै मालसामान छुटेको अवस्थामा पनि सजिलै आफू चढेको ट्याक्सीको बारेमा जानकारी प्राप्त गर्न सकिने र मालसामान फिर्ता पाउन सहज हुने कम्पनीले जनाएको छ।

यस प्रकारको सिस्टमको माध्यमबाट नेपाल सरकारलाई आवश्यक परेको बेलामा कोरोनाको ट्रेसिङ्ग गर्नुपर्दा सहयोग पुग्नुको साथसाथै आवश्यक विबरणहरु पनि सजिलै संकलन गर्न सकिनेछ।

देशभर लागू भएको लकडाउनका कारण लामो समयसम्म ट्याक्सी व्यवसाय समेत बन्द भएको र समस्यामा रहेको हुँदा यसलाई सहज बनाउन बीमा गर्न लागिएका इजी ट्याक्सी नेपालकाका अध्यक्ष संजीत पौडेलले बताए ।

यसका साथै ट्याक्सी व्यवसायीलाई ट्याक्सी बीमा गराउँदा विभिन्न बीमा कम्पनीसँगको सहकार्यमा इजी ट्याक्सीले सहुलियत दरमा ट्याक्सी बीमा गराउने व्यवस्था समेत गरेको उनले जानकारी दिए।

इजी ट्याक्सी नेपालले ट्याक्सी बीमामा न्यूनतम ७ सयदेखि ८ हजार ७ सय ६५ रुपैयाँसम्मको छुट उपलब्ध गराउने व्यवस्था मिलाईएको कम्पनीले जनाएको छ।

Top