सुनसान भयो भृकुटीमण्डप बजार, ‘ग्राहक नै आएनन्’

काठमाण्डौ – लामाे समयकाे लकडाउनपछि काठमाण्डौको भृकुटीमण्डप बजार खुले पनि ग्राहक नआउँदा सुनसान भएको छ ।

लकडाउनकाे कारण तीन महिनासम्म बन्द रहेको बजार असार १५ गतेदेखि खुलेको हो । लकडाउनकाे कारण चैत महिनायताको भाडा तिर्न नसकिएको र व्यापार नै नभएपछि दैनिकी चलाउनसमेत कठिन भएको व्यवसायीहरुले बताएका छन् ।

झण्डै १३ सय पसल रहेको यो बजार लुगा, जुत्ता/चप्पल, इलेक्ट्रोनिक सामान किनमेल गर्नकाे लागि सजिलो बजार पनि हो । सुलभ मूल्यमा सामान पाउने भनेर चिनिएकाे यो बजार लकडाउनको तीन महिना बन्द रहे पनि अहिले भने खुलेको हाे ।

भृकुटीमण्डपमा व्यापार गर्ने साना व्यवसायीहरुको सङ्गठन काठमाण्डौ निम्न व्यापारी सङ्घका सहअध्यक्ष चिन्तामणि प्रसाईँले अझै पनि पूर्णरुपमा पसलहरु खुल्न नसकेको बताउनुभयो ।लकडाउन सुरु हुनभन्दा अघि नै चैत ७ गतेदेखि नै बजार बन्द भएकाेले कतिपय व्यापारी गृह जिल्ला पुगेकाले अझै केही पसल खुल्न नसकेको प्रसाईंले बताउनुभयो ।

उहाँले सरकारले असार १ गतेदेखि बजार खोल्न दिए पनि भिडभाड हुने बजार भएकाले १५ गतेदेखि मात्रै खोलेको उहाँले बताउनुभयो । कोरोना सङ्क्रमणको अवस्थालाई ध्यान दिइ बिहान १० बजेदेखि साँझ ६ बजेसम्मकाे लागि बजार खुला गरिए पनि ग्राहक नआएकाले सुनसान रहेको उहाँले बताउनुभयो । उहाँले ग्राहक नभए पनि दैनिकी चलाउन सजिलो हुन्छ कि भन्ने आशामा पसल खोलिएको बताउनुभयो ।

लकडाउनअघि दैनिक १५/२० हजार रुपैयाँको व्यापार हुने गरेकोमा अहिले बोनीसमेत हुन नसकेको व्यापारीहरुले बताएका छन् । पसल खोलेको झण्डै १५ दिन भइसक्दा पनि व्यापार हुन नसकेको व्यवसायी बोधराज थापाले बताउनुभयो । उहाँले जनजीवन सहज नभएसम्म ग्राहक आउने सम्भावना नरहेको बताउनुभयो ।

भृकुटीमण्डपका प्रत्येक पसलले प्रति स्क्वायरफुट महिनाको १४ रुपैयाँका दरले हरेक महिनाको १५ गतेभित्र भाडा तिर्नुपर्छ । लकडाउन खुलेपछि खुलेको बजारमा व्यापार नहुँदा भाडा तिर्नसमेत पैसा नभएकाले चैत महिनायताको भाडा तिर्न नसकेको व्यवसायीहरु बताउँछन् ।

Top